महानगरको खर्च,बालेनको चर्चा
शनिबार काठमाडौँ उपत्यका र वरपर भिषण वर्षा भयो । लगत्तै उपत्यकाका विभिन्न बस्ती डुबानमा परे । विशेषगरी खोला र नदी छेउमा बस्दै आएका स्थानीय बाढी प्रभावित बने ।
साँझ काठमाडौं महानगरका मेयर बालेन साहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गर्दै फेसबुकमा एउटा स्टाटस लेखे । उनको सम्पादित स्टाटस यस्तो छ, ‘माननीय केपी ओलीज्यू, काठमाडौँमा लगभग २००० परिवार खोला छेउ बस्ने गरेका छन् । तपाईंले पचाउन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’
बालेनको उक्त स्टाटसमा कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले कमेन्ट गरे । उनको लेखाइको आशय छ, ‘आकाशबाट पानी पर्नु र खोलामा पानीको सतह बढ्नुमा एमाले अध्यक्ष ओलीको हात हुँदैन ।’
घटना यहाँसम्म सामान्य नै थियो । यसपछि युवाहरुमाझ चर्चित एउटा फेसबुक पेजको प्रवेश हुन्छ । ‘ट्रोल नेपाल’ का फलोअर करिब पौने सात लाख छन् । उक्त पेजमा युवा लक्षित समसामयिक विषयमा ठट्यौली शैलीका कन्टेन हालेको देखिन्छ । र, यो पेजलाई कुमार बेनले चलाउने गरेका छन् ।
को हुन् कुमार बेन ?
कुमार महानगर प्रमुख बालेनका सल्लाहकार हुन्।
बालेन र निर्देशक भण्डारीको स्टाटसमा जुहारी देखेपछि कुमारले उक्त ‘ट्रोल नेपाल’ पेज मार्फत् दुई वटा व्यंग फोटो हाल्छन् । एउटामा निर्देशक भण्डारीकै फोटो राखेर व्यंग्य गरिएको छ, ‘सञ्जालतिर डिस हान्न त सजिलै छ नि, झ्याप भएर नगरकोटको डाँडामा गाडी हाँक्न पो ढंग चाहिन्छ ।’
त्यस्तै खोलामा आएको बाढीमाथि तैरिरहेको जहाजमा लेखिएको छ, ‘ओली ट्राभल्स प्रालिको नौलो प्रस्तुती– बामाले यातायात ।’
अध्यक्ष ओलीमाथि यस्तो व्यंग्य देखेपछि एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुले आक्रोश पोख्दै फेसबुक पेजविरुद्ध रिर्पोट गर्न थाल्छन् । यहाँसम्म कि,अनेरास्ववियुका अध्यक्ष समिक बडालले बालेनकै सल्लाहमा कुमारले फेसबुक पेजमार्फत् एमालेलाई तथानाम बात लगाएको उल्लेख गर्दै भन्छन्,‘कुमार बेन अर्थात् काठमाडौंको मेयर बालेनका सल्लाहकार । उनको काम के,थाहा छ ? बालेनतिर उठेका प्रश्न अरुतिर झोस्न फेसबुक पेजहरु मार्फत् निकृष्ट गाली र फेक खबरहरु फैलाउँछन् । पेजहरुमा काम गर्नेलाई लाग्ने खर्च बालेनको सचिवालयको आन्तरिक खर्चबाट मिलाउँछन् । त्यसैले बालेनको सचिवालयको दैनिक खाजा खर्च नै एक लाख रुपैयाँ छ ।’
यहाँ बडालले मात्रै होइन, अनेरास्ववियुका सबै नेता तथा कार्यकर्ताहरुले बालेनविरुद्ध स्टाटस लेखेको देखिन्छ । अन्त्यमा जोडिएका छन्,एमाले युवा इन्चार्ज महेश बस्नेत । उनले पनि समिक बडालको भनाई साभार गर्दै बालेनलाई आफ्ना मान्छे नियन्त्रणमा राख्न सुझाव दिएका छन् ।
तर बालेनका सल्लाहकार कुमारले भने सांसद बस्नेतको सुझावमाथि व्यंग्य गरेका छन् । कुमारले झन् अध्यक्ष ओलीलाई अराजक शैलीमा व्यंग गर्दै चुट्किला नै बनाएका छन् ।
यसपछि सांसद बस्नेत झन् आक्रोशित हुँदै बालेनलाई सच्चिन भनेको देखिन्छ । पछिल्लो समय बडालकै स्टाटस साभार गर्दै उनले बालेनलाई अरुको खेदो खन्नुभन्दा आफ्नो कामको सूची बनाउन आग्रह गरेका थिए । उनले भनेका छन्, ‘महानगरको पैसाले सामाजिक सञ्जालमा इकोसिस्टम चलाएर अरु बिरुद्ध निकृष्ट आक्रमण गर्ने, कामको परिणाम खोज्नेलाई ट्रोल गरेर सामाजिक पूँजी,व्यक्तित्व इज्जत नष्ट गर्ने, इमोसनल म्यानिपुलेसन गरेर लडाई,झगडा,मारामार,ध्वंश मात्र गर्ने !’
हुँदा हुँदा अहिले दुवै पक्षका समर्थकहरुबीच आरोप–प्रत्यारोप शुरु भएको छ । एमाले समर्थकहरुले बालेनको कमजोरी औंल्याइरहेका छन् भने बालेनका समर्थकहरुले पार्टी अध्यक्ष ओलीमाथि व्यंगु गरिरहेका छन् ।
टिप्पणीहरू