काँग्रेस—एमाले सहकार्य कसैले मिलाइदिएको हो - प्रधानमन्त्री

काँग्रेस—एमाले सहकार्य कसैले मिलाइदिएको हो - प्रधानमन्त्री
सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको बताउनुभएको छ। 

प्रतिनिधि सभामा विश्वासको मत माग्दै उहाँले उक्त भनाई राख्नुभएको हो । काँग्रेस र एमाले मिलेको भन्न लाज लागेर 'राष्ट्रिय सहमतिको सरकार'को बर्को ओढाइएको पनि प्रधानमन्त्रीको दाबी छ ।

प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेको उल्लेख गर्दै उहाँले त्यसले विधिको शासन शुरु भएको बताउनुभयो । उहाँले अपमान र प्रतिशोध नभइ सहमति, सहकार्य र आपसी विश्वासको राजनीति आफूले अघि बढाएको जिकिर गर्नुभयो । 

यस्तो छ प्रधानमन्त्रीको भनाई:

नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो । प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् शुरु गरेँ, लोकतन्त्रको गोडमेल शुरू गरेँ । कसैका प्रोफाइल हेरिनँ, विधिको शासन शुरू गरेँ । राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ । काँग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैं मिलेका हौं । त्यो सत्य होइन । तपाईहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ । 

सिधै काँग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ । साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो । नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा शुरू गर्न सकिन्थ्यो । तपाईहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ । 

स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन । आज जुन समूहहरूले तपाईहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ ।

टिप्पणीहरू