सम्झौता भएकै हो, होइन भन्ने को ?

सम्झौता भएकै हो, होइन भन्ने को ?
सुन्नुहोस्

राष्ट्रिय सहमतिको सरकार बनाउने भन्दै दुई ठूला दलका शीर्षस्थ नेताहरूले गरेको भनिएको सात बुँदे सम्झौतापत्रको हस्ताक्षरयुक्त कपी वा त्यसको प्रतिलिपि नै पनि १० दिन बित्दा समेत बाहिर आएको छैन । १७ गते बिहान पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा सम्झौताका हस्ताक्षरकर्ता केपी शर्मा ओलीले यो कुरा सत्य नभएको बताएपछि वास्तविकताको सोधखोज शुरु भएको हो । 

असार १७ गते राति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मिडिया व्यवसायी रामेश्वर थापाको चपली हाइटस्थित घरमा सो सम्झौता भएको थियो । सम्झौतालगत्तै राजीनामा दिन प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुवै नेताले आग्रह गरिसकेका छन् । 

हस्ताक्षर गर्ने दिन एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओली, महासचिव शंकर पोखरेल उपस्थित थिए । उपाध्यक्ष विष्णु पौडेल भने एकैछिन छ्वास्स निस्केर हिँडेका थिए । त्यसैगरी कांग्रेसको तर्फबाट शेरबहादुर देउवा, आरजु राणा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद उपस्थित थिए । यसअघि दुई ठूला दल मिलेर सरकार बनाउने सोही घरमा जेठ २८ गते भएको छलफलमा समेत आरजु राणा उपस्थित थिइन् । असार १७ गते पनि पूरै दिन उनी सम्झौता गराउन सक्रिय रहेकी थिइन् । 

सम्झौतामा प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिई संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार निर्माण गर्ने र बाँकी शेरबहादुर देउवाको नेतृत्वमा चुनावमा जाने सहमति भएको बताइन्छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू