निलम्बित कुलसचिवमाथि विद्यार्थी उरालेको आरोप
दाङको बेलझण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयका निलम्बित कुलसचिव माधव अधिकारीमाथि अर्को बखेडा झिकेको आरोप लागेको छ । नाताले एमाले महासचिव शंकर पोखरेलका भाञ्जा उनले एमालेसम्वध्द अनेरास्ववियुका नेता तथा कार्यकर्तालाई विश्वविद्यालय नेतृत्वविरुद्ध उरालेको बताइन्छ । अनेरास्ववियुले केही दिनअघि विभिन्न कार्यकक्षमा तालबन्दी गरेको थियोे ।
उपकुलपति डा. यादवप्रकाश लामिछानेले गत बिहीबार अधिकारीलाई निलम्बन गरेका हुन् । आफूखुशी निर्णय गरेको, पदीय मर्यादा एवम् गरिमालाई कायम गर्न नसकेको,शिक्षाध्यक्षलाई कार्यकारी परिषदको बैठक सञ्चालन भइरहेको अवस्थामा अशिष्ट,अभद्र तथा दुर्व्यवहार गरेको, कार्यकारी परिषद्ले गरेका निर्णयलाई अवज्ञा गरेको आरोपसङ्गै उनी निलम्बित भएका थिए ।
पहिलेका प्रधानमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी आजदेखि एमाले अध्यक्ष ओली र विद्या भट्टराईले सम्हाल्दै हुनुहुन्छ ।
तर,अधिकारीले आफूमाथि लगाइएका आरोप र कारबाहीलाई उल्ट्याउन राजनीतिक दबाबको मार्ग अवलम्बन गरेपछि विश्वविद्यालय व्यवस्थापन थप आक्रोशित भएको बताइन्छ । एमाले दाङका अध्यक्ष शिवकुमार आचार्य अधिकारी निकट नातेदार हुन् । उनको सहयोगमा एमाले अनेरास्ववियुलाई उचालेको विश्वविद्यालय प्रशासनको भनाई छ । अध्यक्ष आचार्य महासचिव पोखरेलका बहिनी ज्वाइँ हुन् ।
अधिकारीले भने आफूमाथि लागेका सबै आरोप मिथ्या भएको दाबी गरेका छन् । उनले भने, ‘स्पष्टिकरण कुलपति र सहकुलपतिसमक्ष पठाइसकेको छु । ती आरोपमा कुनै सत्यता छैन । विश्वविद्यालयभित्रको एउटा गुटले ममाथि आरोप लगाएको हो ।’
विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने प्रावधान छ । पहिलेका प्रधानमन्त्री र शिक्षामन्त्रीको जिम्मेवारी आजदेखि एमाले अध्यक्ष ओली र विद्या भट्टराईले सम्हाल्दै हुनुहुन्छ ।
यता उपकुलपति लामिछानेले पनि सत्ता परिवर्तनपछिको सम्भावित परिदृश्यको सामनाका लागि आवश्यक तयारी गरिसकेको बताए । उनी अध्यक्ष ओली यसअघि प्रधानमन्त्री हुँदा उपकुलपतिमा नियुक्त भएका थिए ।
टिप्पणीहरू