ओली सरकारमा मधेसबाट पुरानै अनुहार

ओली सरकारमा मधेसबाट पुरानै अनुहार

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा पठाउने दुई मन्त्रीको नाम टुंगो लगाएको छ । 

आज बिहान बसेको पार्टीको बैठकले सांसदद्वय प्रदीप यादव र नवलकिशोर साह सुडीलाई मन्त्री बनाउने निर्णय गरेको हो । कांग्रेस-एमाले गठबन्धनमा मन्त्रालय भागबण्डा हुँदा जसपाले खानेपानी र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको पाएको छ । 

बताइएअनुसार प्रदीपले खानेपानी मन्त्रीको शपथ खाँदै छन् । उनी यसअघि प्रचण्ड सरकारमा स्वास्थ्यमन्त्री थिए । निवर्तमान वन तथा वातावरण मन्त्री नवलकिशोरले महिला मन्त्रालयको नेतृत्व गर्ने बताइएको छ ।  

यता, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने भएका छन् । गत फागुनसम्म प्रचण्ड नेतृत्वको सरकारमा उनले सोही मन्त्रालयको नेतृत्व गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिएपछि राष्ट्रपति कार्यालयमा नवनियुक्त मन्त्रीहरुलाई शपथ गराइने कार्यक्रम छ ।

टिप्पणीहरू