मुलुक पश्चगामी दिशातर्फ उन्मुख भएको समाजवादी मोर्चाको ठहर
नेपाली काँग्रेस र नेकपा एमालेको सत्ता समीकरणले मुलुकलाई पश्चगामी दिशातर्फ लैजानसक्ने चिन्ता समाजवादी मोर्चाले गरेको छ ।
सत्ता बहिर्गमनमा परेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विशेष सक्रियतामा आज बसेको मोर्चाको बैठकले त्यस्तो चिन्ता जनाएको हो । काँग्रेस–एमाले गठबन्धन सरकारबाट प्रगतिशील यात्रा सम्भव नभएको निष्कर्षसमेत मोर्चाले निकालेको छ ।
प्रधानमन्त्रीमा प्रचण्ड निरन्तर रहँदासम्म निष्क्रिय रहेको मोर्चाको बैठक आज एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा बसेको थियो । बैठकले पछिल्लो राजनीतिक घटनाक्रम र मोर्चाको कामको समीक्षा गर्दै दस्तावेजीकरणको निम्ति कार्यदल बनाउने निर्णय पनि गरेको छ ।
त्यसका लागि चार सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए । उनका अनुसार हाल मोर्चामा नरहेका अन्य सबै प्रगतिशील कम्युनिष्ट घटकका साथै उपेन्द्र यादवलाई पनि सामेल गराउन पहल गर्ने निर्णय छ ।
समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी सहभागी छन् । उपेन्द्र यादवको जनता समाजवादी पार्टी, नेपाल भने पार्टी विभाजनपछि मोचाबाट अलग्गिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष निर्देशनमा आफ्नो पार्टी फुटाइएको उपेन्द्रको गुनासो रहँदै आएको छ ।
टिप्पणीहरू