सिंहदरबारको राजनीतिक बाछिटा मधेशमा
मधेस प्रदेशमा संघको राजनीतिक समीकरणले बनाएको खाकाविपरित नयाँ सरकार बन्ने अवस्था उत्पन्न भएको छ । नेपाली काँग्रेसले सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेपछि नयाँ संकेत देखिएको हो ।
संघमा नेपाली काँग्रेस र एमालेसहितको गठबन्धले जनमत पार्टीलाई मधेस सरकार दिने बताएको थियो । त्यसको बदलामा जनमतका संघीय सांसदहरुले संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने सहमति भएको बताइन्छ ।
तर मधेसका मुख्यमन्त्री सिंहले सहमति पालना नगरेको भन्दै काँग्रेसका प्रदेश सभा सदस्यहरुले आपत्ति जनाएका छन् । संघमा नयाँ सरकार बन्नुअघि मुख्यमन्त्री सिंहले काँग्रेसलाई चार वटा मन्त्रालय दिने सहमति गरेको बताइन्छ ।
काँग्रेस प्रदेश सभा सदस्य कौशल किशोर राय भन्छन्, ‘नयाँ सरकार बन्नुअघि हामीबीच जुन भद्र सहमति भएको थियो, त्यो उहाँले इग्नोर गर्नुभयो । चार वटा मन्त्रालयमा सहमति भएको थियो, तर उहाँले अहिले तीन वटामा अडान लिइरहनु भएको छ । यो त सरासर धोका हो । ’
उनले सहमति पालना नभए काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिय अघि बढाइने बताए । ‘भोलि हाम्रो संसदीय दलको बेठक बस्दैछ, मुख्यमन्त्रीले सहमति पालना गर्नुभएन भने हामी आफैं एमाले र लोसपासँग नयाँ सरकार बनाउछौँ’, उनले थपे ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतको निम्ति ५४ सांसद आवश्यक हुन्छ । रायका अनुसार काँग्रेस नेतृत्वको सरकार बनाउन आफ्ना २२, एमालेका २४ र लोसपाका नौ सांसदको समर्थन पर्याप्त हुन्छ ।
टिप्पणीहरू