व्यवसायीहरु साँझ बालुवाटारमा, दिउँसो सिंहदरबार

व्यवसायीहरु साँझ बालुवाटारमा, दिउँसो सिंहदरबार

निजी क्षेत्रको मनोबल बढाउन माग गर्दै हिजो साँझ प्रधानमन्त्रीसँग भेटघाट गर्न पुगेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीले आज दिउँसो उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेको छ । महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको टोलीले अर्थमन्त्रीसँग मुलुकको अर्थतन्त्र समस्याग्रस्त अवस्थामा रहेको बताउँदै आर्थिक पुनरुत्थानको निम्ति निजी क्षेत्रको मनोबल बढाउन माग गरेका छन् ।

महासंघ अध्यक्ष ढकालले हाल आर्थिक निकायबीच समन्वय नभएको र अर्थतन्त्र सुधार गर्न निजी क्षेत्रको सहभागितामा आर्थिक सुधार आयोग वा अन्य कुनै संयन्त्र आवश्यक रहेको पनि औंल्याए । उनले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या समाधानका लागि अनुरोध गर्दै भने, ‘यो समस्याले उद्योगलाई ठूलो असर पारेको छ । उत्पादनमूलक गतिविधिहरु संकुचित भएको छ ।’ 

नेपाल राष्ट्र बैंकको तथ्याङ्कले मुद्रास्फीति चार प्रतिशतमा झरेको देखाएपनि वास्तविकतामा कोभिड यता सात प्रतिशतको दरले बढ्दै गएको समेत उनको भनाई छ । अर्थमन्त्री पौडेललाई आर्थिक गतिविधि र बजारको माग बढाउन मद्धत गर्ने मौद्रिक नीति ल्याउन आग्रह गर्दै अहिले कर्जाको माग घटेपनि उद्योगीहरुले लगानी गर्न नचाहेको व्यवसायीहरुको भनाई छ । भलै, मौद्रिक नीति नेपाल राष्ट्र बैंकले जारी गर्छ ।

 

प्रत्युत्तरमा अर्थमन्त्री पौडेलले आमजनता र निजी क्षेत्रको विश्वास निर्माणमा सरकार केन्द्रित हुने उल्लेख गर्नुभयो । उद्योगी व्यवसायीलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै उहाँले उत्पादन र निकासीसँगै बजारको माग घट्दै गएकोमा आफू सचेत रहेको बताउनुभएको  छ । उहाँले भन्नुभयो, ‘यस्ता समस्याको समाधान गरिन्छ । डेडिकेटेड फिडर र ट्रंक लाइन समस्या तथा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइजस्ता सबै समस्याको समाधान गर्न सरकार प्रतिबद्ध छ ।’

टिप्पणीहरू