प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतिवडा

प्रधानमन्त्रीको सल्लाहकारमा रिमाल र खतिवडा
सुन्नुहोस्

एमाले उपमहासचिव विष्णु रिमाल प्रधानमन्त्रीको मुख्य राजनीतिक सल्लाहकार नियुक्त भएका छन् । आज बसेको क्याबिनेट बैठकले डा. युवराज खतिवडालाई विकास सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ ।

खतिवडा प्रधानमन्त्रीको अघिल्लो कार्यकालमा अर्थमन्त्री र अमेरिकाका लागि नेपाली राजदूत नियुक्त भएका थिए । रिमालले पहिले पनि राजनीतिक सल्लाहकार भएर काम गरिसकेका छन् ।

आजैको क्याबिनेटले पाँच वटा समिति गठन गरेको जनाइएको छ । राजनीतिक समितिको संयोजकमा उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई जिम्मेवारी तोकेको छ ।

त्यस्तै सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई जिम्मेवारी दिइएको छ ।

टिप्पणीहरू