उपसभामुखविरुद्ध उजुरी, तत्काल जिम्मेवारीबाट हटाउन माग
गैरसांसद व्यक्तिलाई अमेरिकाको भिसा दिलाउन पदीय हैसियतको दुरुपयोग गरेको तथ्य खुलेपछि आलोचनामा परेकी उपसभामुख इन्दिरा रानाविरुद्ध संसदीय समितिमा उजुरी परेको छ ।
भक्तपुरका अर्जुन बाँस्कोटाले राज्य व्यवस्था समितिमा उजुरी दिएका हुन् । उजुरीमा संवैधानिक पदमा रहेको व्यक्तिले पदीय जिम्मेवारी प्रतिकूल काम गरेको भन्दै उनीमाथि छानबिन गरी जिम्मेवारीबाट हटाउन माग गरिएको छ । समिति सभापति रामहरी खातिवडाले साउन १ गते नै उजुरी परेको र भोलिपल्ट आफूले तोक लगाएको जानकारी दिए ।
उपसभामुख रानाले गत वर्ष फेब्रुअरी २६ मा काठमाडौँस्थित अमेरिकी दूतावासको कन्सुलरलाई सम्बोधन गरी आफूसहित छ जनालाई भीसाका लागि अन्तर्वार्ताको समय मिलाइदिन आग्रह गर्दै पत्र लेखेको समाचार पहिलो पटक बुधबार जनआस्था डट कममा सार्वजनिक भएको थियो । झण्डै डेढ वर्षसम्म गुपचुप राखिएको यो प्रकरण बाहिर आएपछि उनी विवादमा परेकी छन् ।
टिप्पणीहरू