कम्युनिष्ट विचारधारामार्फत् नेपालीलाई गोलबन्द गर्ने महान अगुवा : कमरेड पुष्पलाल

कम्युनिष्ट विचारधारामार्फत् नेपालीलाई गोलबन्द गर्ने महान अगुवा : कमरेड पुष्पलाल

-लेखनाथ सिकारु

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विविध कार्यक्रमका साथ मनाइँदैछ । वि.सं. २००६ वैशाखमा चारजना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले भारतको कोलकातामा नेकपा स्थापना गरेका थिए ।

वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला सुपुत्रको रुपमा जन्मिएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि सञ्चालन गरेका थिए । उनी शहिद गङ्गालालका भाइ हुन् । सोही नेकपा विभिन्न कालखण्डमा अनेक चिरामा विभाजित भएपनि यतिखेर नेपालको संसदमा वामपन्थीहरुको उपस्थिति उल्लेख्य छ । कुनै समूह सदन बाहिरको भूमिकामा छन् । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले पुष्पलालप्रति श्रद्धा राख्ने गरेका छन् ।

व्यक्तिगत जीवनमा कठोर निर्वासित जीवन बिताउन, चरम अभावमा बाँच्न र कष्टपूर्ण अवस्थामा मृत्युवरण गर्न परे पनि उनले राष्ट्र र जनताप्रतिको निष्ठालाई कहिल्यै कमजोर हुन दिएनन् । नेपाली काँग्रेसलगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनआन्दोलनबाट पञ्चायत व्यवस्थाको अन्त्य गर्नुपर्ने अभियानमा पुष्पलाल सधैँ लागिरहे ।

अध्ययनशील नेताका रुपमा परिचित पुष्पलालसंँग नेपालको वर्तमान स्थितिका बारेका कार्यदिशा दिने क्षमता थियो । उनले नेपालको इतिहासको गहिरो अध्ययनका साथै केही पुस्तक पनि प्रकाशन गरेका छन् ।

पुष्पलाल स्मृति प्रतिष्ठानको आयोजनामा आज बिहान कीर्तिपुर नगरपालिका, वडा नम्बर ४ चम्पादेवीस्थित पुष्पलाल स्मृति उद्यानमा श्रद्धाञ्जली सभाका साथै विविध कार्यक्रम गरी दिवस मनाइयो । नेकपा एमालेसहित विभिन्न वामपन्थी दलहरुले उनको स्मृतिमा स्वदेश तथा विदेशमा विविध कार्यक्रम आयोजना गरेर मनाइरहेका छन् ।

नेपालमा साम्यवादी विचारको प्रचारका लागि पहिलो पटक कम्युनिस्ट पार्टीको घोषणापत्रको नेपालीमा अनुवाद गरेका पुष्पलालको वि.सं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको हो । करिब १६ वर्षको उमेरदेखि सक्रिय राजनीतिक जीवन बिताए । ३८ वर्षसम्म नेपाल र नेपाली जनताको स्वतन्त्रता, मुक्ति र समृद्धिका निम्ति अनबरत संघर्ष गरेर नेपाली राजनीतिक आकाशमा एउटा उज्वल नक्षत्रका रुपमा आफूलाई स्थापित गरे । 

नेपालको एकतन्त्रीय जहाँनिया राणा शासनको विरुद्धमा प्रजातान्त्रिक आन्दोलनका आदरणीय शहिद गंगालाल श्रेष्ठका सहोदर भाइ स्व. पुष्पलाल निरंंकुश राणाशाही विरोधी आम प्रजातान्त्रिक आन्दोलनलाई अघि बढाउने काममा खटिइरहे । उक्त आन्दोलनलाई क्रान्तिकारी प्रजातान्त्रिक आन्दोलनका रुपमा उठाउने काममा खेलेको भूमिका असाधारण महत्वको रहेको पुष्टि भएको छ ।

पुष्पलाल दूरदर्शिता, त्याग र इमानका प्रतिकका रुपमा नेपालको राजनीतिमा उच्च स्थान बनाउन सफल भए । २००६ वैशाख १० गते अर्थात सन् १९४९ अप्रिल २२ का दिन भारतको कोलकातास्थित श्यामबजारमा आफ्ना सहकर्मीहरुलाई साथमा लिएर पुष्पलालले नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका हुन् । उनको योगदान र त्यागका कारण नेपालमा धेरै नामका कम्युनिष्ट पार्टीहरु सशक्त र गौरवशाली पार्टीका रुपमा स्थापित भए । नेपालमा कम्युनिष्ट पार्टीको विचारधारा भित्र्याउने पहिलो नेताकै कारण पुष्पलाल आजपर्यन्त हामी सबैका लागि आदर्श र प्रेरणाका श्रोतका रुपमा रहिआएका छन् । 

तीन ‘स’ अर्थात सिद्धान्त, संगठन र संघर्षको नीतिलाई अवलम्बन गर्दै त्यसको जगमा उभिएका कारण आज मुलुकमा कम्युनिष्ट आन्दोलन सशक्त बन्दै गएको छ । कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद २००५ अर्थात १९४९ अप्रिल ५ मा प्रकाशन गरेर कम्युनिष्ट विचारधारासँग नेपालीहरुको परिचय गराउनुका साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेर त्यसमा गोलबन्द गर्ने अगुवाका रुपमा पुष्पलालको स्थान इतिहासमा सुरक्षित छ । 

नेपाली समाजको पारलौकिक, धार्मिक वा रुढीबादी होइन, द्वन्द्वात्मक भौतिकवादी अध्ययन विश्लेषण गर्ने र यसलाई परिवर्तन गर्ने सन्दर्भमा पुष्पलालका योगदानहरु अविस्मरणीय छन् । सांस्कृतिक रुपान्तरण विना कम्युनिष्ट पार्टीले आमूल परिवर्तन गर्न सक्दैन भन्ने मान्यताका आधारमा कमरेड पुष्पलालले राजनीतिक क्षेत्रका साथै सांस्कृतिक कामलाई उनि उतिकै जोड दिएको पाइन्छ । 

उनले अघि सारेका नीतिहरुले सफलता पाए वा पाएनन् भन्ने आधारमा तय हुन्छ नेपालबाट सामन्ती राजतन्त्रलाई सधैँका लागि बिदा गरेर गणतन्त्र स्थापना गर्ने कमरेड पुष्पलालको अविचलित अडान र प्रतिबद्धता कार्यान्वयन भएको आजको युगमा उनको सान्दर्भिकता झन् बढेको छ ।

पुष्पलाल दर्शन, साहित्य, इतिहास, विदेश सम्बन्ध, संस्कृति जस्ता विषयमा गहन अध्येता हुन् । उनका संकलित रचना अध्ययन गर्दा पनि प्रष्ट हुन्छ । इतिहासको गहिरो अध्ययन गर्दै नेपालको मौलिकता र विशेषता अनुरुप कम्युनिष्ट पार्टी अघि बढ्नुपर्ने कुरामा पुष्पलालले राजनीतिक दस्तावेजहरुका साथै आफ्ना रचनाहरुमा पनि महत्वका साथ उल्लेख गरेको पाइन्छ । 

कम्युनिष्टहरु साँचो अर्थमा नेपालको राष्ट्रियताको पहरेदार हुन भन्ने कुराको मानक पुष्पलालले नै स्थापना गरेका हुन् । दिल्ली सम्झौताको विरोधदेखि नेपालमाथि हुने हरेक थिचोमिचोको अग्रपंक्तिमा रहेर विरोध गर्ने कामको अगुवाई गरेको पाइन्छ । उनले आफ्नो जीवनकालमा गररेको कठोर संघर्ष, निष्ठापूर्ण राजनीति र इमान्दार प्रयास आजको मजबुत कम्युनिष्ट आन्दोलनको आधारशीला हो ।

यसबीच सरकारले पुष्पलालको सम्मानमा राष्ट्रिय पुरस्कार स्थापना गरेको छ । गणतन्त्र नेपालको पहिलो विचारक तथा कल्पनाकार, नेपाली राजनीतिका शिखर पुरुष ‘नेपाल रत्न’  पुष्पलालको स्मृति दिवस मनाउंँदै गर्दा ंउनले देखाएको मार्गबाट प्राप्त उपलब्धिलाई उपयोग गर्दै नेपाली जनताको आर्थिक, सांस्कृतिक र जनजीविकाको पक्षमा उभिन सबैमा प्रेरणा मिलोस् ।

टिप्पणीहरू