पोलियोमुक्त घोषणापछि राजधानीमा भेटियो भाइरस, ६३ हजार बालबालिकालाई पोलियो अभियान

पोलियोमुक्त घोषणापछि राजधानीमा भेटियो भाइरस, ६३ हजार बालबालिकालाई पोलियो अभियान

काठमाडौं महानगरपालिकाले पोलियो खोप अभियान सञ्चालन गर्न लागेको छ । महानगरले ५ वर्षमुनिका बालबालिकाका लागि पोलियो खोप अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।  

पर्सिदेखि आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै घरमा पुगेर बालबालिकालाई पोलियो थोपा खुवाउने योजना बनाएको महानगरले जनाएको छ । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि उक्त थोपा खुवाउने बताइएको थियो । महानगर क्षेत्रभित्र ६३ हजारबढी बालबालिका रहेको अनुमान छ । 

महानगरको स्वास्थ्य विभागको तथ्थाङ्कअनुसार सबैभन्दा धेरै बालबालिका वडा नम्बर ६ मा देखिन्छन् । त्यहाँ छ हजार १२ जना बालबालिका छन् । 

सबैभन्दा कम वडा नम्बर १ मा चार सय ६२ जना रहेको विभागले जनाएको छ । जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीसहितको टोली खटाएर घरघरमा पोलियो थोपा खुवाउने जानकारी दिए । 

पोलियो खोप पाँच हप्ता, १० हप्ता र १४ हप्ता उमेर समूहका शिशुलाई तीन पटक मुखबाट (ओरल पोलियो भ्याक्सिन–ओपीभी) खुवाइन्छ । यस्तै, १४ हप्ता र ९ महिनाको उमेरमा सुईबाट (इनएक्टीभेटेड पोलियो भ्याक्सिन–आइपीभी) दिइन्छ । 

नेपालमा सन् २०१० पछि पोलियो भाइरस देखिएको थिएन । पोलियो नदेखिएपछि सन् २०१४ मा पोलियोमुक्त देश घोषणा गरिएको हो । तर, सरकारले पोलियो उन्मुलन रणनीतिअनुरुप सन् २०१७ देखि वातावरणीय निगरानी गर्दै आएको छ ।  

जसअनुसार हरेक महिना दुई पटक उपत्यकाका विभिन्न पाँच ठाउँको ढलको नमुना लिएर पोलियो भाइरस भए नभएको जाँच गर्ने गरिएको छ । सोही क्रममा गत जेठ १३ गते काठमाडौंको टुकुचा–बागमती दोभानको ढलबाट संकलित पानीमा डिप्राइभ्ड पोलियोको भाइरस–३ भेटिएको हो । 

असार २९ गते आएको रिपोर्टअनुसार यो भाइरस मुखबाट दिइने पोलियो भाइरसको उत्परिवर्तन भएको पत्ता लागेको छ । पोलियोमुक्त देश घोषणा भएको १० वर्षपछि वातावरणमा यो भाइरस देखिनुले चिन्ता उब्जाएको महानगरले जनाएको छ । 

महानगरले बालबालिकामा अतिशीघ्र लुलो पक्षघातका लक्षण देखिए तत्काल खबर गर्न समेत आग्रह गरेको छ । पोलियो भाइरस भएमा बालबालिकाका कुनै पनि अंग तत्काल लुलो हुने र एक भाग नचल्नेजस्ता लक्षण देखिने जनाइएको छ । यस्ता लक्षण १५ वर्ष उमेरसम्मका बालबालिकालाई देखा पर्न सक्छ ।
 

टिप्पणीहरू