प्रधानमन्त्रीसँगको भेटमा व्यवसायीहरुद्वारा मौद्रिक नीति सम्बन्धी मागमा जोड
प्रधानमन्त्री केपी शर्मा ओलीसँग व्यवसायीहरुको समूहले आज पनि भेट गरेको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को टोलीले प्रधानमन्त्रीसँग गरेको भेटसँगै एक दर्जन माग अघि सारेको छ ।
नाडा अध्यक्ष करण चौधरी नेतृत्वको टोलीले बैंकहरुबाट निजी सवारी साधनको कर्जा प्रवाह प्रकियामा लोन टु भ्यालु ५० प्रतिशतबाट ७५ प्रतिशत गरिनुपर्ने, चालू पुँजी कर्जा मार्ग दर्शन २०७९ कार्यान्वयनमा परिमार्जन ल्याउनुपर्ने माग राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको नयाँ मौद्रिक नीति अगाडि सोसँग सम्बन्धित माग अघि सारेका हुन् ।
त्यस्तै विभिन्न राजमार्ग तथा शहरमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिनुपर्ने, दुई पांग्रे सवारी साधनहरुको डिलरले ग्राहकलाई बिल गरेको दिनबाट मात्र कर लाग्ने व्यवस्था गरिनुपर्नेलगायत माग पनि छ ।
नेपाल चेम्बर अफ कमर्सले पनि प्रधानमन्त्रीसँगको भेटमा अर्थतन्त्रलाई चलायमान गराउन ४३ बुँदे सुझावपत्र हस्तान्तरण गरेको छ । चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिका सम्बन्धमा प्रधानमन्त्रीलाई तीन दर्जनभन्दा बढी सुझाव दिएको हो ।
प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रमा लगानी आकर्षण गर्न सरकारले ध्यानपूर्वक काम गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएको छ । गतसाता नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले भेटेर प्रधानमन्त्रीसमक्ष आफ्ना माग प्रस्तुत गरेका थिए ।
टिप्पणीहरू