प्रधानमन्त्रीले आफू निकटका व्यवसायीलाई पोस्न खोजेको माओवादी आरोप

सुन्नुहोस्

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचलित कानुन र नियमविपरित नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई ठाडो निर्देशन दिएकोमा आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, ‘कुरा सुशासन र विधिको गर्ने, नियमको गर्ने, अनि समाधान चाँहि ठाडो निर्देशनमा खोज्ने, सरकार गलत बाटो हिँड्दैछ, म सचेत गराउन चाहन्छु ।’

  
निवर्तमान ऊर्जामन्त्री समेत रहेका बस्नेतले प्रधानमन्त्रीद्वारा आफ्ना निटकका व्यवसायीलाई नाफा हुनेगरी विद्युत प्राधिकरण विनियमालीको उल्लंघन गर्न खोजेको बताए । उनले थपे, ‘यो विवाद काटिएको विद्युत लाइन जोड्ने वा नजोड्ने भन्ने होइन । यो त महशुल असुल गर्ने कि नगर्ने वा महशुल बुझाउने कि नबुझाउने भन्ने हो । लाइन जोड्ने वा नजोड्ने त विद्युत प्राधिकरण विनियमालीले निर्देश गरेकै छ । ६० किस्तासम्मको सुविधा पनि दिएकै छ । त्यसको निरुपण गर्न कानुनी व्यवस्था र संरचानाहरु पनि छन् । पुनरावलोकनदेखि पुनरावेदनसम्मको कानुन छ । सरकार त्यो बाटो हिँड्नुपर्यो ।’

टिप्पणीहरू