अहिले काँग्रेसका लामा, २० महिनापछि एमालेका थपलिया

अहिले काँग्रेसका लामा, २० महिनापछि एमालेका थपलिया

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले दाबी पेश गरेका छन् । उनले प्रदेश प्रमुखको कार्यालय पुगेर ६४ सांसदको हस्ताक्षसहित दाबी पेश गरेका हुन् । 

११० सदस्यीय प्रदेश सभामा बहुमतको निम्ति ५६ सांसदको समर्थन चाहिन्छ । यहाँ काँग्रेसका ३७ र एमालेका २७ सांसद छन् । दुई दलका सांसदको मत नै बहुमतका लागि प्रशस्त हुने भएकाले साना दलहरुसँग गठबन्धन गर्नुपर्ने अवस्था छैन । 

प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई आजै मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ । दुई दलबीच मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको जनाइएको छ । २० महिना लामा र त्यसपछि नेकपा एमालेको तर्फबाट जगन्नाथ थपलियाले सरकारको नेतृत्व गर्ने सहमति भएको हो ।

यस पटक काँग्रेसले मुख्यमन्त्रीसहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, युवा खेलकुद मन्त्रालय, सामजिक विकास मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र संस्कृति तथा पर्यटन मन्त्रालय लिने भएको छ ।

यस्तै एमालेको भागमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, खानेपानी तथा ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उद्योग, वाणिज्य तथा भूमि मन्त्रालय परेको छ । 
एमालेबाट प्रेमभक्त महर्जन, प्रकाश श्रेष्ठ, अमन मास्के, किरण थापामगर, सुकुमाया तामाङ र कृष्ण सिलवाल मन्त्री बन्ने सम्भावना छ ।

टिप्पणीहरू