कोशीमा ‘जनावरमैत्री जगंल’ अभियान निरन्तर

कोशीमा ‘जनावरमैत्री जगंल’ अभियान निरन्तर
सुन्नुहोस्

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री हुँदा थालेको जनावरमैत्री वृक्षरोपण अभियानलाई निरन्तरता दिइएको छ । हात्ती र मानव बस्ती संरक्षणका लागि पूर्वको भारत पश्चिम बंगाल राज्यसँगको सीमानादेखि पश्चिम उदयपुरसम्म थालिएको ‘जनावरमैत्री जङ्गल’ अभियानलाई उनले जारी राखेका छन् । 

कार्कीले झापाको प्रजापति र जामुनबारी सामुदायिक वन क्षेत्रबाट गत असार २९ गतेदेखि अभियान शुरु गरेका हुन् । नेपाली काँग्रेसका नेता बिपी कोइरालाको ४२ औं स्मृति दिवसको अवसरमा मोरङको बेलबारीस्थित जङ्गलमा उनले वृक्षरोपण गरेका छन् । 

कार्कीका अनुसार हालसम्म मोरङ र झापाका विभिन्न सामुदायिक वन क्षेत्रभित्र पाँच हजार बढी विरुवा वृक्षारोपण गरिएको छ । विभिन्न संघसंस्था, पार्टी, समाजसेवीहरुले दिएको विरुवा रोप्ने गरिएको उनले बताए । 

गत फागुनमा कार्कीसहितको टोलीले हात्ती प्रभावित क्षेत्रमा सात दिने पदयात्रा गरेको थियो । झापाको बाहुनडाँगीदेखि उदयपुरको बेलसोत बजारसम्म दुई सय ४३ किलोमिटर यात्रा गर्दा उनले स्थानीयसँग जङ्गली जनावरले दिएको दुःख हैरानीबारे बुझेका थिए । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ को प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमार्फत समस्या समाधान गर्ने प्रतिबद्धता पनि जनाएका थिए । पछिल्लो समय जङ्गली जनावरको आतंक बढ्दै गएको छ । जङ्गल मासिँदै गएकाले हात्ती, बाँदरलगायतका जनावर मानव बस्तीभित्र छिर्ने गरेको वन्यजन्तु विज्ञहरुको भनाइ छ ।

टिप्पणीहरू