कांग्रेस र एमालेबाट प्रदेश प्रमुख, माओवादी र एसका हटाइए

कांग्रेस र एमालेबाट प्रदेश प्रमुख, माओवादी र एसका हटाइए
सुन्नुहोस्

बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रमुख हेरफेर भएका छन् । हिजो साँझ बसेको क्याविनेट बैठकले माओवादी केन्द्र र एकीकृत समाजवादीको कोटामा नियुक्त भएका तीन प्रदेश प्रमुखलाई हटाएर नयाँ नियुक्त गर्ने निर्णय गरेको हो । 

लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेस र बागमतीमा एमालेबाट नयाँ प्रदेश प्रमुख नियुक्त गरिएको छ । लुम्बिनीमा कांग्रेसका कृष्णबहादुर घर्तीलाई लगिएको छ । त्यहाँ यसअघि माओवादी केन्द्रका अमिक शेरचन प्रदेश प्रमुख थिए। 

रोल्पाको माडी गाउँपालिका-२ का घर्ती कांग्रेसका पुराना नेता हुन् । ०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लागेका उनी ०४९ सालमा गाविस अध्यक्ष बनेका थिए । ६५ वर्षीय घर्तीसँग दुई पटक कांग्रेस रोल्पा सभापति भएर नेतृत्व गरेको अनुभव छ । 

कर्णालीमा यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन् । भीमदत्त नगरपालिकाको पूर्वमेयर समेत रहेका उनी पनि कांग्रेस नेता हुन् । कर्णालीमा यसअघि माओवादीका तिलक परियार प्रदेश प्रमुख थिए ।  

बागमती प्रदेशमा यादव शर्मालाई हटाएर दीपकप्रकाश देवकोटालाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । एकीकृत समाजवादीका शर्माको ठाउँमा लगिएका देवकोटा एमाले नेता हुन् । उनी एमाले अनुशासन आयोगको सदस्य छन् ।
 

टिप्पणीहरू