लेखा समिति सभापतिमाथि लाग्यो विद्युत महशुल नतिरेका व्यापारीसँग गुपचुप भेटको आरोप
सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलमाथि विद्युत महशुलको बक्यौता रहेका व्यापारीसँग गुपचुप भेटघाट गरेको आरोप लागेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुली गर्न बाँकी रहेका व्यापारीसँग पोखरेलले गोप्यरुपमा भेटेको दाबी गरेका हुन् ।
लेखा समितिमा सो विषय छलफलकै क्रममा रहेका बेला सभापतिले गरेको रहस्यमय भेटको सूचना आफूले पाएको जनाउँदै उनले यसको छानबिन गर्न माग गरे । ‘डेडिकेटेड फिडर र ट्रंक लाइनको विषयमा सार्वजनिक लेखा समितिमा बहस कायमै छ । तर, उक्त समितिका सभापति र झगडियाहरुमध्ये वक्यौता समेत कायम रहेका एक जना व्यापारीका बीचमा रहस्यमय भेट भएको सूचना आएको छ’, सापकोटाले भने, ‘पदीय दुरुपयोगको यस घटनाको गम्भिरतापूर्वक छानविनका लागि जोडदार माग गर्दछु ।’
दुध किसानहरुको बाँकी रकम तत्काल भुक्तानी दिनुपर्नेतर्फ उनले सरकारलाई सचेत गराएका छन् ।
टिप्पणीहरू