विशेष अदालतबाट छुटेका तीन जनाविरुद्ध सर्वोच्चमा मुद्दा

विशेष अदालतबाट छुटेका तीन जनाविरुद्ध सर्वोच्चमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट फैसला भएका मुद्दाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषबाट विभिन्न मितिमा फैसला भएका तीन वटा मुद्दामा चित्त नबुझेपछि आयोग सर्वोच्च पुगेको हो । 

आयोगका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक सम्पत्ति हानी-नोक्सानी पुर्याएको र बैंकको रकम अनियमित तवरले निकाली भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा पुनरावेदन गरेको जानकारी दिए । 

फर्निचर खरिदमा अनियमिता गरेको भन्दै अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका तत्कालिन कार्यकारी अधिकृत रामजी जोशीउपर अख्तियारले मुद्दा चलाएको थियो । साढे चार लाख रुपैयाँ बिगो मागदाबीसहित दर्ता उक्त मुद्दामा विशेष अदालतले गत वर्षको असोज २५ मा जोशीलाई  सफाई दियो । 

त्यस्तै, गैरकानूनी तवरले बैंकबाट झण्डै ३४ करोड रुपैयाँ निकालेको भन्दै कृषि विकास बैंक स्वयम्भू शाखा कार्यालयका तत्कालिन अधिकृत केदारप्रसाद गौतमसहित आठ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । गत मंसिर १४ गते विशेषले गौतमसहित पाँच जनालाई दोषी ठहर गर्दै सजाय सुनाउँदा तीन जनालाई भने सफाई दिएको थियो । 

यता, नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड बढी घोटाला गरेको आरोपमा तत्कालिन असई दिलिप कार्कीविरुद्ध अख्तियारले मुद्दा चलाएकोमा विशेष अदालतले मागदाबी अनुसारको फैसला दिएन । उक्त कसुमा दोषी ठहर गर्दै ६ वर्ष कैद र ६० लाख ७५ हजार २८८ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । तर, उक्त फैसला बदर गरी मागदाबी बमोजिमको जरिवाना र सजाय हुनुपर्ने अख्तियारको माग छ ।

टिप्पणीहरू