बालेन तर्के पनि उपत्यकाका सबै मेयर सिंहदरबारमा
उपत्यका मेयर्स फोरमले स्मार्ट सिटीको निम्ति वर्षौदेखि रोक्का जग्गा फुकुवाको माग गरेका छन् । फोरमको टोलीले सिंहदरबार पुगेर उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई मागपत्र बुझाएको छ ।
फोरम अध्यक्ष तथा ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पालिका मातहतको सडक, सम्पदा, पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको महशुल भुक्तानी स्थानीय तहले ६० प्रतिशत तिर्ने गरी आवश्यक समन्वय गरिदिन आग्रह गरेका छन् । त्यस्तै उपत्यकाका नदी संरक्षण र फोहोरमैला व्यवस्थापनको निम्ति दिगो नीति अवलम्बनमा सहयोग गर्न पनि फोरमले माग गरेको छ ।
मागपत्र बुझाउन फोरममा सलंग्न १८ स्थानीय तहमध्ये १७ स्थानीय तहका मेयर सिंहदरबार पुगेका थिए । तर काठमाडौँ महानगरका मेयर बालेन साह अनुपस्थित भए । यसबाट मेयर बालेन एक्लै अघि बढ्न चाहेको प्रष्ट हुन्छ ।
गत कात्तिकमा बूढानिलकण्ठको एउटा रिसोर्टमा बसेको फोरम बैठकमा मेयर बालेनले अन्य मेयरहरुलाई नीजि कम्पनीको पैसा खाएको आरोप लगाएपछि खैलाबैला मच्चिएको थियो । ललितपुरमा बसेको अर्को बैठकमा पनि बालेन आफूलाई बोल्न नदिइएको भन्दै बैठक छाडेर बीचमै हिँडेका थिए । त्यसपछि फोरमको कार्यक्रम, बैठक र गतिविधिमै सहभागी हुन छाडेका उनी आज सिंहदरबार पनि पुगेनन् ।
टिप्पणीहरू