सहमति कार्यान्वयनमा माओवादी प्रतिबद्ध, अन्यथा हुनसक्नेतर्फ नेतृत्व सशंकित
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) विधेयकमा शीर्ष तीन दलबीच भएको सहमति उल्टिनसक्ने आशंका गरेका छन् ।
विगतमा पटक–पटक टिआरसीको अन्तरवस्तुमा सहमति भएपनि लगत्तै उल्टिने गरेको स्मरण गर्दै उनले यसपटक पनि त्यस्तो खतरा देखेका हुन् । यसअघि सहमति कार्यान्वयनको प्रक्रियामा जाँदा विभिन्न विषय उठाउँदै अवरोध गरिएको प्रसंग उठाएका महासचिव गुरुङ यस पटक प्रक्रिया अघि बढ्नेमा आशावादी देखिन्छन् ।
‘विगतमा पनि पटक–पटक टुंगिएकै हो । अन्तरवस्तुमा सहमति भयो, फेरि पछाडि उल्टियो । प्रक्रियामा जाँदा कुनै न कुनै इस्यु उठाएर विलम्व हुँदै आएको अवस्था हो’, उनले भने, ‘अहिले जुन सहमति भएको छ, भविष्यमा उल्टिएन भने, कुनै अवरोध भएन भने प्रक्रिया अगाडि बढ्छ भन्ने कुरामा हामी आशावादी छौँ । यसलाई उल्लंघन गर्ने अथवा सहमतिबाट ब्याक हुने प्रक्रिया नहोस् भन्ने कुरामा हामी आशावादी छौँ ।’
गुरुङले टिआरसी विधेयक टुंग्याउन नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रबीच हिजो भएको सहमतिबाट कोही पनि पछाडि फर्किनु नहुनेमा जोडसमेत दिए । शान्ति प्रक्रिया टुंगोमा पुर्याउने विषयलाई केवल राजनीति गर्ने भाँडो नबनाउन उनको विशेष आग्रह छ ।
‘टिआरसीलाई राजनीति गर्ने भाँडो नहोस् भन्ने कुरामा हाम्रो आग्रह हो । १७–१८ वर्षसम्म यसलाई जुन ढंगले अवरोध गर्ने, सहमति उल्टिने गरेकै कारणले १७–१८ वर्ष बित्यो । त्यसकारणले अब त्यसरी उल्ट्याउने काम नहोस् भन्ने हाम्रो आग्रह हो । विगतकालको जस्तो पटक–पटक उल्टिने काम नहोस् भन्ने कामना हो’, महासचिव गुरुङले भने ।
माओवादी केन्द्र सहमति कार्यान्वयन गर्न प्रतिबद्ध रहेको पनि उनले स्पष्ट पारे ।
टिप्पणीहरू