उकालो लागेको सेयर बजारप्रति पूर्वअर्थमन्त्री सशंकित

सत्तारुढ नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पूँजी बजारमाथि निगरानी बढाउन सरकारलाई सचेत गराएका छन् ।

पूँजी बजार अस्वाभाविक रुपमा उकालो लागि रहेका बेला पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकार र नेपाल राष्ट्र बैंकलाई त्यसमाथि निगरानी बढाउन सुझाएका हुन् । आज संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा अर्थमन्त्री विष्णु पौडेलसँगको छलफलमा महतले भने– अहिले सेयर मार्केट निरन्तर माथि उठेर २७ सय पुगेको अवस्था छ । तर मलाई के लाग्छ भने यसमा हामी कसेस हुन जरुरी छ । 

विना आधार कृत्रिम तरिकाले पूँजी बजार दोब्बरले वृद्धि भएको उल्लेख गर्दै उनले सर्वसाधारणको लगानी फस्न नदिन सरकार सतर्क रहनुपर्ने बताए । टाठाबाठाले नक्कली आधार खडा गरेर स्ट्रेन्थ नै नभएको कम्पनीको शेयर बढेको जनाउँदै महतले सर्वसाधारण फस्ने अवस्था रहेको दाबी गरे । 

‘जति पनि लिस्टेड कम्पनीहरु छन् । त्यो कम्पनीको स्ट्रेन्थ अनुसार त्यसको बढेको छ ? भन्दा त्यो अनुसार बढेको छैन’, अर्थमन्त्री पौडेललाई सजग गराउँदै उनले भने, ‘यसको मतलब के हुन्छ ? यसको मतलब के हुन्छ भने पछिल्लो समयमा जसले त्यो बढेको बढ्यै गर्छ लगानी गर्ने आम लगानीकर्ताको पुँजी फस्ने खतरा बढेर जान्छ ।’

महतले बिना आधार पूँजी बजारमा लगानी नबढाउन सर्वसाधारणलाई अपिलसमेत गरेका छन् । नयाँ सरकार र मौद्रिक नीतिका कारण केही उत्साह आउनु स्वाभाविक भएपनि त्यसले दोब्बरले वृद्धि हुनु सन्तोषजनक नभएको उनको टिप्पणी छ ।

प्रवक्ता महतले सेयर बजारमा भएको अस्वभाविक वृद्धिप्रति सचेत रहन नियामक निकायको पनि ध्यानाकर्षण गराए ।

टिप्पणीहरू