पार्टी फुटबारे प्रचण्ड- छिट्टै समाचार सुन्नुहुनेछ !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी कुनै हालतमा नफुट्ने दाबी गर्नुभएको छ । उपमहासचिव जनार्दन शर्मालगायत असन्तुष्ट नेताहरुले माओवादी फुटाउन लागेको चर्चा चलिरहेका बेला आज पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उहाँको यस्तो प्रतिक्रिया आएको हो ।
प्रचण्डले माओवादी फुट्दैछ भन्ने हल्लामा विश्वास नगर्न कार्यकर्तालाई आग्रह पनि गर्नुभयो । बरु,विभिन्न समयमा माओवादीबाट अलग्गिएका नेताहरुलाई एक ठाउँमा ल्याउने अभियानमा आफू रहेको र त्यसनिम्ति वातावरणसमेत बनिरहेको उहाँले बताउनुभयो ।
‘तपाईंहरुलाई चिन्ता छ,पार्टी के हुन्छ । गुटहरु छन्,गुटैगुट,पार्टी फेरि फुट्ने पो हो कि ? म के भन्न चाहन्छु भने पार्टी अब फुटतिर होइन,हिजो फुटेकाहरु पनि सबै जुट्नेतिर आएका छन् । छिट्टै तपाईंहरुले समाचार सुन्नुहुनेछ',अध्यक्ष प्रचण्डले भन्नुभयो ।
माओवादीबाट छुट्टिएकाहरु एकतामा आइरहेको जनाउँदै उहाँले सबैलाई मिलाएर लैजाने आँट आफूमा रहेको उल्लेख गर्नुभयो । 'हिजो माओवादीबाट अलग भएर धेरै गर्छौं भन्ने सपना बोकेका साथीहरुले पनि अब एकता गर्नुको विकल्प छैन भन्ने निर्णय गर्नुभएको छ',प्रचण्ड भन्नुहुन्छ, 'मलाई विश्वास छ,ती साथीहरु छिटै पार्टी एकतामा आउँछन् । पार्टी फुट्ने होइन, फुटेका साथीहरु पनि जुट्ने परिस्थिति बन्छ,एकपटक फेरि नेतृत्व गर्ने आँट गरेको छु ।'
नयाँ कार्ययोजना र कार्यक्रमसहित देशव्यापी अभियानमा जाने संकल्प नै माओवादीका लागि आजको आवश्यकता भएको उहाँले बताउनु भयो । आफूले एक ढंगको बिद्रोहको झण्डा उठाइसकेको दाबी गर्दै भन्नुभयो, 'समाजवादको निम्ति प्रतिक्रान्तिका बिरुद्ध क्रान्तिको झण्डा उठाइसकेँ ।'
टिप्पणीहरू