काम छउञ्जेल भाँडो, सकिएपछि ठाँडो
‘काम छउञ्जेल भाँडो, काम सकिएपछि ठाँडो’ यो उखान नेपालीमा निकै प्रचलित छ । आफ्नो मुलुकबाट भागेर नयाँ दिल्ली पुगेकी बंगलादेशकी बर्हिगमित प्रधानमन्त्री शेख हसिनाको सन्दर्भमा यो उखान ठ्याक्कै मिलेको छ ।
अस्ति बिहानसम्म उनी मुलुकको शक्तिशाली प्रधानमन्त्री थिइन् । सुविधा सम्पन्न सरकारी निवास गणभवनमा बस्ने उनको सुरक्षामा २४सै घण्टा तीन दर्जन सुरक्षागार्ड तैनाथ हुन्थे । यसबाहेक उनका तीन वटा निजी बंग्लो र विभिन्न अपार्टमेन्ट थिए ।
अस्ति साँझदेखि लगभग घरको न घाटको अवस्थामा छिन् । भागेर नयाँ दिल्ली पुगेकी उनको पछिल्लो अवस्थाबारे भारतीय सेना र उच्च राजनीतिक नेतृत्वबाहेक अरु कसैलाई जानकारी छैन । आरक्षण कोटाको विरोधमा जारी आन्दोलनलाई बल प्रयोग गरेर दबाउन खोज्दा सत्ता–शक्ति गुमाइन् । आफ्नै देशमा सामान्य नागरिकसरह बाँच्ने अवसरबाट टाढा पुगेकी अहिले उनीसँग न कुनै घर छ,न कुनै देश ।
लण्डनमा राजनीतिक शरणार्थी भएर बस्न दिल्ली पुगेकी हसिनालाई बेलायतले हिस्स बनाइदिएको छ । चार सयको हत्या गरेको आरोप लागेका उनलाई बेलायतले राजनीतिक शरण नदिने औपचारिक जानकारी दिएको छ ।
चार सयको हत्या गरेको आरोप लागेका उनलाई बेलायतले राजनीतिक शरण नदिने औपचारिक जानकारी दिएको छ ।
सन् २०१८ मा प्रभावशाली प्रधानमन्त्रीको हैसियतमा बेलायत जाँदा तत्कालीन महारानी एलिजाबेथ द्वितीयासँग हात मिलाएकी उनलाई राजमहलमै स्टेट डिनर आयोजना गरिएको थियो । तर अहिले शर्मनाक तवरले सत्ताबाहिर पुगेपछि त्यही बेलायतले राजनीतिक शरण दिन अस्वीकार गरेको छ ।
उनका छोरा सजिव वाजिद बेलायतमै छन् । तर,आमा लण्डन जानसक्ने अवस्था देखिँदैन । बेलायतले घुमाउरो भाषामा भारतमै राजनैतिक शरण माग्न सुझाएको देखिन्छ । भारतले राजनीतिक शरण दिएमा उनी दिल्लीमा रहेकी छोरी साइमा वाजिदसँग बस्नसक्ने कतिपयको अनुमान छ ।
अस्तिदेखि नयाँ दिल्लीको गाजियावादस्थित हिन्डन एयर फोर्स स्टेशनको सुरक्षितस्थलमा बसेकी उनलाई भारतले पनि लामो समयसम्म राजनीतिक शरण नदिने संकेत गरेको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले संसदमा बोलिसकेका छन्, ‘हसिनाले अन्तिम क्षणमा हामीसँग भारत प्रवेशको अनुमति माग्नुभयो, हामीले सहयोग गर्यौं । तर यो दीर्घकालिन होइन । उहाँले सायद उपयुक्त कदम चाल्नुहुनेछ ।’
हसिनालाई अमेरिकाले पनि राजनीतिक शरण नदिने भएको छ । गत वर्ष सेप्टेम्बर २३ मा राष्ट्रपति जो बाइडनको निमन्त्रणामा अमेरिका भ्रमण गरेकी थिइन् । अहिले उनैलाई अमेरिकाले शरण दिन अस्वीकार गर्दै भिसा रद्दको घोषणा गरेको छ ।
क्यानाडासँग राजनीतिक शरण मागिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाए पनि उसले पनि कुनै इच्छा नदेखाएको बुझिएको छ । १५ वर्ष बंगलादेशको प्रधानमन्त्री रहँदा विश्वका ७१ देशको भ्रमण गरिन् । तर आज सत्ताबाहिर हुँदा कुनै देशले स्वागत त धेरै परको कुरा,प्रवेशको लागि अनुमतिसमेत दिन मानिरहेका छैनन् । सायद यसैलाई भनिन्छ होला, ‘छन् गेडी सबै मेरी,छैनन् गेडी सबै टेडी ।’
टिप्पणीहरू