बेलायतमा किन दन्दनी आगो बल्दैछ ?

बेलायतमा किन दन्दनी आगो बल्दैछ ?

बेलायतको म्यानचेस्टर शहरमा गोराहरुको समूहले अश्वेत व्यक्तिलाई पार्कमा हिँडिरहेको अवस्थामा हमला गरेपछि पुलिसले सुरक्षा दिए । त्यहीँ  नै तीन मुस्लिम युवतीलाई थुकियो र उनीहरुको हिजाब थुत्ने प्रयास गरियो । अब्दुल्लाह क्विलियम मस्जिदमा दंगा हुनु एक घण्टा अगाडि मुस्लिम मानिने एक व्यक्तिलाई गत शुक्रबार दिउँसो लिभरपुलको व्लुन्डेलस्यान्ड्स र ऋसबी रेलवे स्टेशनमा छुरा प्रहार गरिएको थियो । 

शनिवार लिभरपुल सिटी सेन्टरमा निःशुल्क कुरान वाचन गरिने इस्लामिक स्टलमा पनि आक्रमण भयो । दंगाकारीहरुले हलमा एक एशियालीलाई पाकि (स्तानी) भन्दै आफ्नो कारबाट बाहिर तानेको भिडियोमा देखाइयो । ती व्यक्ति ट्याक्सी चालक भएको अनुमान छ । शुक्रबार सण्डरल्याण्ड दंगामा सहभागी एक व्यक्तिको शरीरमा स्वस्तिकको ट्याटु देखिएकाले उनी नाजी समर्थक रहेको स्पष्ट हुन्छ।त्यही शहरमा केही अश्वेत युवा बसमा लुकेर बसेका थिए ।

बुधवार साउथपोर्टको हार्टलपुलमा हिँड्ने क्रममा जातीय अल्पसंख्यक सम्प्रदायको देखिने एक व्यक्तिको अनुहारमा मुक्का प्रहार गरियो । आइतबार रोथेह्र्यामस्थित शरणार्थीहरु राखिएको एक होटल फोडेर सयौं प्रदर्शनकारी भित्र छिर्दै सामानहरु फालिदिए । सोमवार लिड्समा एक डबल डेकर बस र प्रहरीको गाडी जलाइयो ।

जुलाई ३० देखि बेलायतका विभिन्न शहरमा व्यापक दंगा भइरहेको छ । सरकार अनि सर्वसाधारण सबैको लागि यो ठूलो समस्याको रुपमा देखिएको छ । सम्पन्न र सक्षम समाजमा पनि यस प्रकारको घटना हुनु सबैको लागि चिन्ताको विषय हो । यसलाई समयमै सही ढंगले नियन्त्रण गर्न नसकिए अकल्पनीय परिणाम भोग्नुपर्ने सम्भावना उत्तिकै छ । 

बेलाबखत छिटपुट रुपमा रैथाने बेलायतीले आप्रवासीहरुलाई दुःख दिने घटना यसअघि पनि नभएका होइनन् । एकथरी गोरा आफ्नो सबै काम र सुविधा बाहिरबाट आउनेले खोसेको आरोप लगाउँछन् । त्यस्ता  मानिसमध्ये धेरै जसो बिभिन्न कारणले बेरोजगार तथा दुर्ब्यसनीहरु हुन्छन। तर, बहुसंख्यक नागरिक यो तर्कसँग सहमत छैनन् । लामो समयदेखि बेलायतलाई विदेशी नागरिकहरुले उल्लेख्य योगदान दिएको र वर्तमानमा पनि यसको आवश्यकता र महत्व भएको यथार्थ राम्रोसँग बुझेका छन् । 

वर्तमान असन्तुष्टिलाई केही मानिसले फरक ढंगबाट व्याख्या गर्दै प्रदर्शन गरेका छन् । यसको व्यवस्थापन यथासक्य छिटो हुनेछ भन्नेमा विश्वस्त गराउन सरकारले पहलकदमी लिएको देखिन्छ । सोमबार बिहान र मंगलबार बेलुकी सरकारले आपतकालीन कोब्रा बैठक आयोजना गरेको र घटनामा संलग्न करिब पाँच सय जनालाई गिरफ्तार गरिएको छ । न्यायिक कारवाहीको निम्ति चौबिस घण्टै अदालत सञ्चालनमा राखिएको छ भने सुरक्षा निकायहरुमा कार्यरत सबैको बिदा रद्ध गराएर अतिरिक्त सेवा प्रदान गरिएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीले विशेष सम्बोधन गरेर यस्तो गतिविधिमा लाग्ने उग्रपन्थीहरुलाई कुनै पनि हालतमा कानुनी कठघरामा उभ्याइने र उचित दण्ड सजाय दिइने प्रतिबद्धता जनाएका छन् । उनीहरुले भोलिका दिनमा पछुताउन पर्ने सरकारको चेतावनी छ । केही व्यक्तिलाई मुद्धा चलाएर तीन बर्षसम्मको जेल सजाय पनि सुनाइ सकिएको छ । गिरफ्तार भएकाहरुलाई कडा कानूनअनुसार मुद्धा लगाइने र तोडफोडमा सहभागी हुनेहरुलाई जसरी पनि पक्राउ गर्ने सरकारी प्रतिबद्धता छ।  

मर्सिसाइड नजिकै साउथ पोर्टमा जुलाई २९ तारिखका दिन एक युवकले ६,७ र ९ वर्षका तीन बालिकामाथि छुरा प्रहार गरेर मारेका थिए । त्यसबेला अन्य आठ बालबालिका र दुई युवा पनि घाइते भए । उनीहरु त्यहाँ नाच सिकिरहेका थिए । अहिले सबै उपचार पछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हत्यारालाई प्रहरीले तुरुन्त गिरफ्तार गरेको थियो । तर,उसको उमेर १८ वर्ष पुग्न अझै केही दिन बाँकी भएको कारण बेलायती कानुनअनुसार परिचय सार्वजनिक गरिएको थिएन । उक्त  हुलियाअनुसार एक मुस्लिम आप्रवासीले घटना गराएका हुन् ।उनको नाम अलि अल सकती हुनसक्छ ।

भर्खरै सानो डुंगाबाट बेलायत पसेर शरणार्थी बनेका हुन् भन्ने प्रचार गरियो । उनीबारे गरिएको आशंका डढेलो झैं तुरुन्तै फैलियो । भोलिपल्ट स्थानीय केही उग्र गोरा मस्जिद अगाडि भेला भएर मुसलमान तथा आप्रवासीविरुद्ध नारा जुलुस गर्न थाले । दंगा रोक्न प्रहरी खटिए तर उनीहरुमाथि नै प्रहार गरिएको कारण सुरक्षाकर्मी र सर्वसाधारण गरेर ५० घाइते भए । वरपरका भवनमा क्षति पुग्यो । त्यसपछि देशका अन्य शहरहरु लण्डन,म्यानचेस्टर, लिभरपुल,हार्टलीपुल,अल्डरसट, व्ल्याकपुल,बर्मिङ्ग्घम,नटिङघम,बेलफास्टलगायतमा ठुल्ठूला प्रदर्शन भए ।

मुकुण्डो लगाएका प्रदर्शनकारीले तोडफोड,आगजनी र हमला गर्न थाले । गाडी र भवनहरु जलाउन थाले । विशेषगरी शरणार्थीहरु बस्ने होटललाई निशाना बनाइयो । सार्वजनिक भवन,पुस्तकालयसहित नागरिक सुझाव कार्यालय ध्वस्त बनाइएका छन् । विशेषगरी फोहोर संकलन गर्ने डस्टबिनहरु यत्रतत्र जलाउने र आगजनी नियन्त्रण गर्न राखिएका ग्यास,पाउडरका सिलिण्डरहरुले प्रहरीलाई आक्रमण गरिएको छ । शरणार्थीहरु ज्यान बचाउन जंगलतिर भागेका छन् । 

घटनाले उग्ररुप लिने संकेत मिलेपछि पक्राउ परेका अभियुक्तलाई दुई दिनपछाडि नै लिभरपुल क्राउनकोर्ट अदालतमा उपस्थित गराइयो। न्यायाधीशले उनको नाम सार्वजनिक गर्न आदेश दिएका छन् । उनलाई गत बिहिबार लिभरपुल अदालतमा तीन जनाको हत्या,आठ जनाको ज्यान मार्ने उद्योगसहितको मुद्दामा उपस्थित गराइएको थियो । अगस्ट सातमा मात्र उनको उमेर १८ वर्ष पुग्ने भए पनि उनीबारे फैलाइएको अफवाहले निकै ठूलो नोक्सानी हुने ठहर गरी न्यायाधीशले परिचय सार्वजनिक गर्न आदेश दिएका हुन् । तर उनी हल्लाको ठीक विपरित रुवाण्डियन बाबुआमाका छोरा र बेलायतको कार्डिफमा जन्मेका हुन्  । 

सानो उमेरदेखि तेजबुद्धिका उनले ११ वर्षको उमेरमा बाल अधिकारसम्बन्धी एक विज्ञापनमा डाक्टर हु को भूमिका निर्वाह गरेका थिए ।तर अहिले बिबिसीले उक्त बिज्ञापन हटाएको छ। उनी प्रायः स्थानीय चर्चमा जाने गर्थे । स्थानीय बालबालिकाहरुसँग गीत संगीतमा सँगै देखिए पनि आफू भने धेरै बोल्दैन थिए । उनका भाइ ठीक विपरित निकै फरासिला थिए । बाबु दैनिक काममा जाने र आमा घरायसी काममा व्यस्त हुने । स्थानीयसँग राम्रो घुलमिल भएको उक्त परिवार सन् २०१३ देखि ल्याकासायर साउथपोर्ट नजिकै ब्याङ्क्स भन्ने गाउँमा बस्दै आएको थियो । अहिले सुरक्षाको कारण अन्यत्र सारिएको छ । 

शनिबार र आइतबार भएका घटना झन गम्भीर देखिए । ब्रिस्तोल,बोल्टन,मिडल्सबरो, रोथरह्यामलगायत शहरमा उल्लेखित मात्रामा नकाव लगाएका हजारौं गोराहरु ‘हाम्रो देश फिर्ता गर’ जस्तो उग्र नारासहित सडकमा उत्रिएका थिए  । इस्लाम धर्मप्रति विशेष घृणा जगाएर मस्जिदमा हमला गर्ने,बोटल फुटाएर हिर्काउने,ढुंगामुढाले प्रहरीलाई हमला गर्ने काम भयो । यसको प्रतिकारमा स्थानीयहरु पनि जम्मा भएकाले दोहोरो भिडन्त नहोस् भनेर प्रहरीहरु विशेष तयारीमा देखिन्थे । यो प्रदर्शनमा सहभागी हुने बढीभन्दा बढीलाई निगरानी गरी सबैलाई गिरफ्तारी गर्ने सवालमा सरकार दृढ देखिन्छ । 

यस प्रकारको गलत अफवाह सामाजिक सञ्जालमा तुरुन्तै पुग्ने गरेको छ । एक पोष्ट तुरुन्त दशौं लाख मानिसले हेर्ने र प्रतिक्रिया दिने गरेको पाइएको छ । विवादास्पद विषयहरु पस्केर धेरैको ध्यानाकर्षण गर्दै आएका विवादित व्यक्तिहरु टोमी रोबिन्सन तथा एण्ड्र्यु टेटले पनि यो विषयलाई उछालेको बताइन्छ । दक्षिणपन्थी उग्र राष्ट्रवादबाट राजनीति थालेका युकिपका संस्थापक तथा हाल रिफर्म युकेका प्रमुख सांसद नाइजेल फराजले पनि आगोमा घिउ थप्ने काम गरेका छन् । उनी यो सबै उदार अध्यागमन नीतिले निम्त्याएको नियतिको परिणाम हो भन्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नेतिर लागेको देखिन्छ । केही वर्षअगाडि भएको ब्ल्याक लाइफ म्याटर्सको प्रदर्शनमा  सरकारले कडा कारबाही नगरेको परिणाम होसम्म भन्न भ्याएका छन् । यसलाई पूर्व गृहमन्त्री तथा टोरी पार्टीकी नेतृ प्रीति पटेलले भने कडा रुपमा प्रतिकार गरेकी छन् । 

जिम्मेवार नेताहरुले यस प्रकारको दंगालाई प्रश्रय दिने खालको वक्तव्य दिन नहुने आमधारणा छ । अदालतको मानहानी मुद्दामा तारेखमा उपस्थित नभई साइप्रसको पाँचतारे होटलमा होलिडे मनाइरहेका पूर्व दक्षिणपन्थी नेता टोमी रोबिन्सनले दंगा भड्काउनमा आफ्नो हात नभएको उल्लेख गरेका छन् । उनले यसलाई  राजनीतिक दलहरुको नाकामीको कारण बाध्य भएर असन्तुष्टि पोखिएको बताएका छन्  । आफ्नो कमजोरी लुकाउन नेताहरुले अरुलाई (मलाई) दोष थोपार्न खोजेका हुन् मात्र भनेका छन् । 

फोहोर संकलन गर्ने डस्टबिनहरु यत्रतत्र जलाउने र आगजनी नियन्त्रण गर्न राखिएका ग्यास,पाउडरका सिलिण्डरहरुले प्रहरीलाई आक्रमण गरिएको छ । शरणार्थीहरु ज्यान बचाउन जंगलतिर भागेका छन् । 

सामाजिक सञ्जालका मालिकहरुलाई यस घटनाले के कस्ता खालका प्रचारहरु गर्न पाइने वा नपाइने भन्ने नीति बनाउन पर्ने विषयमा थप दबाबमा पारेको देखिन्छ । संसारभर सामाजिक सञ्जालको ठीक र गलत प्रयोगले निकै ठूला सकारात्मक र नकारात्मक नतिजाहरु प्राप्त भैरहेको परिवेशमा यसलाई दंगाले सोत्तर पार्ने बेला आएको जस्तो भान हुन्छ । संसारका धनीमध्ये एक तथा पूर्व ट्विटर हाल एक्सका मालिक एलन मस्कले यो गृह युद्ध अपरिहार्य परिणाम हो भनेकोलाई प्रधानमन्त्री समेतले ब्यापक प्रतिकार गरेका छन् । मलेशियाले आफ्ना नागरिकहरुलाई बेलायत भ्रमण नगर्न भनेपछि यस प्रकारको सूचना जारी गर्ने विश्वको पहिलो मुलुक बनेको छ । अन्य देशबाट पनि बेलायत भ्रमण गर्नेको संख्यामा कमी आउने निश्चित छ । 

अहिलेको प्रदर्शनमा विभिन्न उग्र दक्षिणपन्थी समूह र केही व्यक्ति सक्रिय देखिन्छन् । प्रायः प्रदर्शनमा एकै खाले मानिस यताउता पुग्ने गरेको देखिन्थ्यो । तर, यसपटक व्यापक शहरमा स्थानीयहरु नै संगठित छन् । एकै समय विभिन्न शहरमा भएका घटनामा धेरै मानिस देखिनु यसको प्रमाण हो । जुन चिन्ताको विषय पनि हो । 

स्थानीयहरुको सहभागितामा यस्तो दंगा हुने भएपछि सामाजिक सद्भावमा ठूलो समस्या आउनसक्ने देखिन्छ । एकापसमा आक्रमण र प्रतिकारको सम्भावना पनि हुनसक्छ । अहिले बेलायतमा अति दक्षिणपन्थी समूहको रुपमा राष्ट्रिय मोर्चा (एनएफ),ब्रिटिश नेशनल पार्टी (बिएनपी),ब्रिटिश आन्दोलन (बिएम),ब्रिटिश युनियन अफ फासिष्ट (बियुएफ) सक्रिय भएको कारण सरकारले यिनीहरुको क्रियाकलापमा विशेष निगरानी राखेको छ । इंग्लिस डिफेन्ड लिग (ईएलडी),प्याट्रिओटिक अल्ट्वानेटीथ (पिए) हरु इस्लाम विरोधी संगठनको रुपमा परिचित छन् । अतिवादी इस्लामहरुको स्टेट (आइएस आईएस) र अलमुजाहिध्दिनलाई पनि अवैध घोषणा गरिएको छ । द बेस र बागनर अर्धसैनिक संगठन पनि सकृय रहेको बताइन्छ । 

बेलायतमा सन् १९८१ मा ब्रिक्सटनमा अफ्रिकन समुदाय र प्रहरीबीच ठूलो तनाव भएको थियो । यसको प्रभाव लिभरपुलको तेम्ततेथसम्म पुग्यो । सन् १९८५ मा बर्मिङघमस्थित हयान्डसओपीको एक घरमा अवैध पेय पदार्थ रहेको सुराकीपछि छापा मार्ने क्रममा झडप भएको थियो । सोही वर्ष लण्डनको टोटेनहयाममा घर खानतलासी गर्दा सिम्थिपा जारेटको मृत्यु भयो । त्यसपछिको ठूलो प्रदर्शनमा निकै क्षति भएको थियो । त्यसमा एक प्रहरी र बालकको ज्यान गयो । सन् १९९० मा थ्याचरले लागू गर्न लागेकोे पोलटयाम्स नीतिको विरुद्ध मार्च ३० मा लण्डनमा भएको प्रदर्शनमा ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले प्रहरीलाई हायलकायल पारेका थिए ।

यो पनि थ्याचरको राजीनामानिम्ति एक प्रमुख कारक बन्यो । सन् २००१ मा ब्राडफोर्ड,ओल्डह्याम र वर्नलीमा एसियन र गोराहरुबीच भएको भिडन्तले उग्र रुप लिएको थियो । सन् २०२० मा बृष्टोलमा पुलिस,अपराध र जेल सजायबारे नयाँ कानूनको प्रस्तावविरुद्ध भएको प्रदर्शनमा प्रहरीका गाडीहरु जलाइएको थियो । अमेरिकामा एक अश्वेतको हत्यापछि जातीय विभेदबारे ठूलो प्रदर्शन हुने क्रममा बेलायतमा पनि सन् २०२१ मार्चमा धेरै घटना भएका थिए ।

यसबीच सन् २०११ मा एक प्रहरीको गोलीले तोेटेनह्याममा माई डगानको हत्या हुँदा प्रदर्शन उग्र हुँदै बर्मिङघम म्यानचेस्टर र लिभरपुल पनि पुगेको थियो । त्यसमा ठूलो भौतिक क्षति भयो । करिब चार हजार व्यक्तिलाई गिरफ्तार गरेर १९८४ जनालाई मुद्दा चलाइयो । यसमध्ये दुई तिहाईभन्दा बढीले १६ महिना बढी जेल सजाय पाएका थिए । त्यतिबेला सरकारको सार्वजनिक अभियोजक डाइरेक्टर अफ पब्लिक प्रोसिक्युसन्स वर्तमान प्रधानमन्त्री थिए । उनको त्यतिबेलाको अनुभव तथा कानूनमा देखिएका केही कमी कमजोरी परिमार्जन गर्न खेलिएको भूमिका हालको अवस्था नियन्त्रणमा सहयोगी हुने अनुमान धेरैले गरेका छन् । 

हिजो उग्र दक्षिणपन्थी समूहले ३८ शहरमा प्रदर्शन हुने तयारी गरेका थिए । शरणार्थीहरुलाई सहयोग गर्ने संघ संस्था तथा वकील कार्यालयहरु माथि हमला गर्ने चेतावनी पनि दिएका थिए । प्रदर्शन हुन सक्ने स्थानहरुमा ६००० भन्दा बढ़ी प्रहरी तैनाथ गरिएको थियो । ५०० भन्दा बढ़ीलाई थुनाको बिशेष ब्यवस्था मिलाइएको थियो ।

नेपाली दूतावासद्वारा पनि सबैलाई सतर्क रहन सूचना जारी गरियो । नेपाली घना बस्ति भएको अल्डरसटका प्राय: सबै पसल बन्द थिए । लन्डनमा पसलका सिसाहरु नफोडियोस् भनेर भेनिस्टाले छोपेका थिए । प्राय:जसो शहरमा जातिवादी उग्र दक्षिणपन्थीहरु आउन आँट नगरुन् भनेर हजारौँ मानिस राती अबेलासम्म प्रहरीहरुका साथ विभिन्न नारा लगाई  बसेका थिए । अनुमान गरिएअनुसार कुनै अप्रिय घटना नघटेको र कुनै गिरफ्तारी नभएको खबर छ । 

टिप्पणीहरू