जनआस्थाले समाचार लेख्नासाथ एमालेका दुई नेतामाथि यौनकाण्डमा कार्वाही

जनआस्थाले समाचार लेख्नासाथ एमालेका दुई नेतामाथि यौनकाण्डमा कार्वाही

नेकपा (एमाले) अनुशासन आयोगको टोलीले स्थलगत अध्ययन र छानबिनपश्चात आफ्ना दुई नेतामाथि कार्वाही सिफारिस गरेको छ । आयोग उपाध्यक्ष नेत्र पन्थी नेतृत्वको टोलीले प्राप्त उजुरीका आधारमा कर्णालीका प्रादेशिक अध्यक्ष गुलावजङ्ग शाह (सल्यान) र पूर्व पार्टी केन्द्रीय कमिटी सदस्य तथा अखिल अध्यक्ष ऐन महर (बझाङ्ग) माथि अनुशासनको कार्वाहीका निम्ति आज सिफारिस गरेको हो । सम्भवत: दुबै जना २/२ बर्षका निम्ति निलम्बित हुन सक्नेछन् ।यसवारे हिजो जनआस्था साप्ताहिकमा ब्रेकिङ्ग समाचार छापिएको थियो । प्रस्तुत छ,सो समाचारको विस्तृत विवरण :

यौनकाण्डमा कठोर बन्दै एमाले 

नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष हुन्, सल्यानका गुलाबजंग शाह । तर, अहिले महिला हिंसाको आरोप खेपिरहेका छन् । पार्टीकै एक स्थानीय नेत्रीले आफूलाई लामो समयदेखि शाहले विभिन्न प्रलोभन, धम्की र त्रासमा पारेर यौन उत्पीडन गर्दै आएको उजुरी पार्टी अध्यक्षसमक्ष पेश गरेपछि उनी क्रमशः अप्ठ्यारोमा पर्दै छन् । 

लिखित उजुरी नै हातमा परेपछि ओलीले अनुशासन आयोगलाई त्यसबारे छानबिन गर्न आदेश दिए । आदेशअनुसार आयोगका उपाध्यक्ष नेत्र पन्थीको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले स्थलगत भ्रमण र सबैसँग सोधपुछ गरेर प्रतिवेदनलाई अन्तिम रूप दिइरहेको छ । यो प्रसंग यहाँ किन उठाइएको हो भने अहिले ओलीको वक्रदृष्टि पर्नासाथ एमालेमा जो–कोहीको धरातल भासिने अवस्था छ । त्यसैको पछिल्लो शिकार बन्दै छन्, शाह । उनलाई कर्णालीको अध्यक्षमा निर्वाचित गराउने कुराको विपक्षमा थिए, पार्टी अध्यक्ष ओली । एक वर्षअघि सम्पन्न प्रदेश अधिवेशनमा ओलीले कालिकोटका मानबहादुर शाहीलाई प्रदेश अध्यक्ष बनाउन चाहेका थिए । सोहीअनुरूप गर्न सबै केन्द्रीय सदस्यलाई निर्देशनसमेत दिए । तर, विगतमा आफूलाई टक्कर दिने तत्कालीन नेता प्रकाश ज्वाला (हाल नेकपा एसमा  उपमहासचिव) लाई तह लाउन साथ दिएका शाहीलाई पुरस्कृत गर्न महासचिव शंकर पोखरेलले ओलीको आदेशको वास्ता गरेनन् र शाहलाई नै अघि बढाउँदै निर्वाचित गराए । 

शाहको कमजोरीबारे पहिले नै जानकारी पाएका ओली त्यसपछि पीडित महिलालाई साथ दिने र शाहलाई कम्तीमा ३ वर्षका लागि निलम्बन गर्ने योजनाअनुसार अघि बढेको एमालेका उच्चपदस्थ नेताहरू नै बताउँछन् । तर, पोखरेल भने अझै पनि कारबाहीको समयावधि घटाउने र २ वर्षमा झार्ने प्रयत्नमा लागिरहेको बताइन्छ । ओली हाल राष्ट्रिय जिम्मेवारीमा रहेको र उनको ध्यान यता कम परेको बेला कारबाहीको समय घटाएर शाहलाई आफ्नै क्याम्पमा राख्ने दाउमा पोखरेल लागेको एमाले नेताहरू बताउँछन् । त्यसैले आफूलाई भेट्न आउने कर्णालीका नेताहरूलाई ‘यस्तो समस्या परेको बेला तपाईंहरूले गुलावलाई साथ दिनुपर्‍यो नि’ भन्दै सम्झाउने गरेका छन् । गुलावलाई कारबाही गरेर आफूले पार्टीमा अनुशासन कायम गर्ने कुरालाई प्राथमिकतामा राखी महिला हिंसा कम गर्र्न, यौन दुराचारीविरुद्ध निर्ममतापूर्वक पेश हुन चाहेको सन्देश ओलीले दिन खोजेको रूपमा यो घटनालाई हेरिँदै छ । अहिले पछिल्लो बैठकमार्फत ऐन महरलाई कुनै जिम्मेवारी नदिएको विषयलाई पनि यसैअनुसार लिइएको छ । ओलीले आफ्नो प्रिय पात्र महेश बस्नेतको समेत भूमिका खुम्चाउँदै युवासंघ इञ्चार्जबाट भक्तपुर जिल्लाको इञ्चार्जमा झारेका छन् । हाल युवासंघ इञ्चार्जको जिम्मेवारी राजीव पहाडीलाई दिइएको छ ।


 

टिप्पणीहरू