बुढानिलकण्ठमा एमालेबाहेकको गठबन्धन

बुढानिलकण्ठमा एमालेबाहेकको गठबन्धन

फोहोर व्यवस्थापनमा स्थानीयले तिर्दै आएको शुल्क बढाएको भन्दै बुढानिलकण्ठ नगरपालिकामा क्रियाशील राजनीतिक दल विरोधमा उत्रिएका छन् ।  

सत्तारुढ नेकपा (एमाले) बाहेकको पाँच दलीय संयन्त्रले आज दुर्गा मन्दिरस्थित १२ नम्बर वडा कार्यालय घेराउ गरेको हो । संयन्त्रमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र एकीकृत समाजवादीको सहभागिता छ । 

काङ्ग्रेस नगर कार्यसमितिका सभापति राजाराम बुढाथोकीको नेतृत्वमा भएको घेराउ कार्यक्रममा एकीकृत समाजवादीका नगर अध्यक्ष निरन्जन नेपाल,माओवादी केन्द्र क्षेत्र नम्बर-४ का संयोजक डम्बर अधिकारीलगायत सयौँको उपस्थिति थियो । 

फोहोर व्यवस्थापनमा स्थानीयले तिर्दै आएको शुल्क बढाएर नयाँ कम्पनीलाई ठेक्का दिइएको र त्यसले उपभोक्तालाई आर्थिक भार थपेको पाँच दलीय संयन्त्रको आरोप छ । साथै, फोहोर संकलन गर्ने पुरानो संस्थाको गाडी नियन्त्रणमा लिने र धरपकड गर्ने गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन् । 

बुढानिलकण्ठ नगरपालिकामा एमालेका मीठाराम अधिकारी मेयर छन् भने १२ नम्बरका वडाध्यक्ष शम्भुप्रसाद भट्टराई पनि एमालेकै हुन् ।
 

टिप्पणीहरू