स्त्रीरोग एक्स्पर्टलाई ओखती भण्डार

स्त्रीरोग एक्स्पर्टलाई ओखती भण्डार

– यदुनाथ बञ्जारा 

धौलागिरि अस्पताल बागलुङमा कार्यरत ११ औं तहकी अब्स गाइने विशेषज्ञ डा. रेखा पौडेललाई पोस्टिङ भएको ५ महिना नपुग्दै गण्डकी प्रदेश सरकारले पोखरा तानेर प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रको हाकिम (महानिर्देशक) बनाएको छ ।

पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले साउन २ गते निर्णय गरी अर्को व्यवस्था नभएसम्मलाई सरुवा गरेको हो । 
धौलागिरी अस्पतालमा स्त्री तथा प्रसूति रोगसम्बन्धी नवौँ तहका २ जना पुरुष चिकित्सक कार्यरत भए पनि महिलाका समस्यामा महिला चिकित्सक नै भरपर्दा हुन्छन् । स्वास्थ्य सेवा ऐनबमोजिम एक आर्थिक वर्षभित्र बढीमा ३ महिना काजमा अन्यत्र सरुवा जान मिल्छ तर कानुनका छिद्रबाट प्रवेश गरी आफ्नो दल अनुकूलका कर्मचारीलाई सुगम स्थानमा सरुवा गर्ने र फरक आस्थाका कर्मचारीलाई पेन्डुलम बनाउने वा प्रतिकूल ठाउँमा सरुवा गर्ने चलन छ । 

साउन २ गते सरुवाको निर्णय भएको डा. रेखा पौडेलको सेवा समूह कत्ति पनि मेल खाँदैन । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र पब्लिक हेल्थ समूहमा पर्छ । अस्पताल र स्वास्थ्य संस्थालाई आवश्यक पर्ने औषधि तथा उपकरण आपूर्ति गर्नु केन्द्रको मुख्य दायित्व हो त्यस कार्यालयले मागबमोजिमको औषधि टेण्डर गर्ने र आपूर्तिसम्म गर्ने हो ।

औषधि व्यवस्थापन गर्ने कार्यालयमा स्त्री रोग विशेषज्ञलाई हाकिम बनाइँदा देश र जनतालाई के फाइदा पुग्छ भन्ने विवेक सरकारमा पुगेको देखिँदैन । गण्डकी प्रदेशमा पब्लिक हेल्थ समूहका ९ औँ तहमा झण्डै ६ जना छन् । प्रदेश सरकारले गरेको मनोमानीको सूची लम्बिँदै गएको छ ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू