बालेनको महानगरमा सडक भासियो,छिट्टै बन्ने छाँट छैन

बालेनको महानगरमा सडक भासियो,छिट्टै बन्ने छाँट छैन

काठमाडौं महानगरपालिकाको कार्यालयअगाडि भासिएको सडक मर्मत हुन केही समय लाग्ने भएको छ । कमलादीस्थित महानगर कार्यालयअगाडिको सडकमा गएराति भ्वाङ्ग परेको हो । जसका कारण उक्त सडकबाट आवतजावत रोकिएको छ । सो सडक टुकुचामाथिको हो । सडक भासिएपछि काठमाडौंका मेयर बालेन्द्र साहले खोलामाथि घर र पुल नभई बाटो बनाउनुपर्ने भन्दै कटाक्ष गरेका छन् । 

‘यो टुकुचामाथिको बाटो हो । अझै केही घर यसरी नै टुकुचामाथि छन् । काठमाडौं महानगरले केही समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम शुरु गरेका थियौं । अदालती कारणले केही रोकिन पुगेको थियो । अदालतको आदेशपछि हामीले टुकुचा खोलाको क्षेत्राधिकारभित्र व्यक्ति विशेषका नाममा त्रुटिवश हुन गएको जग्गा कानुनबमोजिम लगत कट्टा गर्नको लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेका छौं’, सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘सरकारले चाँडोभन्दा चाँडो लगत कट्टा गरेर उचित क्षतिपूर्ति वा मुआब्जा दिई खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्छ । यसपश्चात् खोला खोल्ने काम महानगरले तुरुन्त अगाडि बढाउनेछ । यति त सबैलाई थाहा हुनैपर्छ कि मान्छेले आवश्यकताअनुसार खोलामाथि कतैकतै पुल बनाउनपर्छ, खोलामाथि घर र बाटो होइन ।’

सडक मर्मत भयो कि भएन मलाई जानकारी छैन । सडक जुनसुकै कार्यालयमातहत होस्, जसले पहिला देख्छ, उसले मर्मत गर्नुपर्छ

पछिल्लो समय महानगर र सडक विभागबीच काठमाडौंभित्रका सडकलाई लिएर विवाद भइरहेको छ । विभागले आफ्नो मातहतको सडकमा (स.वि.) लेखेको छ । (स.वि.) लेखेको सडकमा महानगरले कुनै निर्माणको काम गर्न नपाउने विभागको भनाइ छ । महानगरका प्रवक्ता नवीन मानन्धरले सडक मर्मत भए–नभएकोबारे जानकारी नभएको बताए । ‘म अहिले बाहिर छु । सडक मर्मत भयो कि भएन मलाई जानकारी छैन । सडक जुनसुकै कार्यालयमातहत होस्, जसले पहिला देख्छ, उसले मर्मत गर्नुपर्छ’,उनले भने । 

यता,सडक डिभिजन, काठमाडौंका सूचना अधिकारी महानन्द जोशीले सडक मर्मतको काम एकाध दिनमा अगाडि बढाउने बताए । भासिएको सडकको नापजाँच गरिसकेको उनले जानकारी दिए । भन्छन्,‘सडकको नापजाँच भइसक्यो । इस्टिमेट पनि तयार पारिसक्यौं । बजेटको लागि विभाग र मन्त्रालयसँग माग गरेका छौं । बजेट आएपछि काम हुन्छ ।’

टिप्पणीहरू