अमेरिकामा नेपथ्यको नाममा आयोजकको बदमासी !
अमेरिकाको कोलोराडो र क्यालिफोर्निया राज्यमा आयोजना भइसकेको नेपथ्य ब्याण्डको कन्सर्ट आयोजकमाथि दर्शकसँग चर्को मूल्य असुलेको आरोप लागेको छ । अगष्ट ३ मा कोलोराडो र गत शनिबार क्यालिफोर्नियामा कन्सर्ट भइसकेको छ ।
सेप्टेम्बर १ का दिन मेरिल्याण्डमा कार्यक्रम राखिएको छ । ‘नेपथ्य लाइभ इन डिएमभी’ को आयोजनामा टिकटको मूल्य न्यूनतम ७७ डलर राखिएपछि युवाहरुको एक समूहले बहिष्कार गर्ने जनाएको छ ।
बहिष्कार भन्दै हिँडेका एक सदस्यले दिएको जानकारीअनुसार पहिले नेपथ्यसँगको कुराकानीमा उनीहरुको पारिश्रमिक एउटा कन्सर्टको २५ हजार डलरमा सहमति भएको थियो । तर अर्को समूहले ३५ हजार डलरमा डिल गरेपछि बढाबढ हुँदै जाँदा ७५ हजार डलर पुग्यो । आयोजकहरुले आफ्नो व्यवसाय र योजना घाटामा जाने देखेपछि दर्शकहरुको टिकटको मूल्य बढाउने नयाँ उपाय अपनाए । पहिले बढीमा २५ डलर भनिएको टिकट अब ७७ डलर पुगेको छ ।
"एउटा कन्सर्टको २५ हजार डलरमा सहमति भएको थियो । तर अर्को समूहले ३५ हजार डलरमा डिल गरेपछि बढाबढ हुँदै जाँदा ७५ हजार डलर पुगेको हो । "
अमेरिकामा हुने यस्ता कार्यक्रमको टिकट मूल्य सामान्यतया २५ देखि ३५ डलर हुने गरेको छ । आयोजकहरुले नेपाली दर्शकलाई मूर्ख बनाउन ‘टिकट सोल्ड आउट’ को हल्ला गरिएको बताइन्छ ।
आयोजकहरुका अनुसार करिब १ लाख ५० हजार डलरको टिकट बिक्री नभए उनीहरुलाई घाटा लाग्छ । त्यसबाट नेपथ्यलाई ७५ हजार डलर अर्थात विनिमय दरअनुसार नेपाली रुपैयाँ एक करोड तिर्नुपर्छ ।
भर्जिनिया,मेरिल्याण्ड र डिसीमा विभिन्न कन्सर्ट आयोजना गर्दा विगतमा थप व्यक्तिलाई नेपालबाट भिसा लगाएर ल्याउने गरिएको थियो । विगतमा दुई समूहबीच यसबारे सामाजिक सञ्जालमा ‘भाले जुधाई’ देखिएको थियो ।
टिप्पणीहरू