निश्चल र स्वस्तिमाले फेरि बिहे गर्दै !

निश्चल र स्वस्तिमाले फेरि बिहे गर्दै !

निर्देशक निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काले दोश्रो बिहे गर्ने भएका छन् । २०७२ फागुनमा बिहे गरेको जो जोडीले पुनः बिहे गर्न लागेका हुन् । तर यो पटक उनीहरुले ‘रील’ बिहे गर्न लागेका हुन्, ‘रियल’मा होइन । 

केही न केही कन्ट्रोभर्सी छाइरहने नेपाली चलचित्र वृतमा निश्चल र स्वस्तिमा नमूना जोडी हुन् । स्वस्तिमा वर्तमान समयकी सर्वाधिक व्यस्त अभिनेत्री हुन् भने निश्चल भेट्रान निर्देशक । तर असोज १७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘बेहुली फ्रम मेघौली’मा भने यी दुईको भूमिका केही फरक हुने बताइएको छ । 

हुनतः यो जोडी पहिलो पटक चलचित्रमा सँगै शीर्ष भूमिकामा देखिँदैछन् । दोस्रो, स्वस्तिमा अभिनेत्रीबाट निर्मात्री बनेकी छन् भने निश्चल पनि निर्देशकबाट कलाकार बनेका छन् । अर्थात, दुवै जनाले पहिलो पटक फरक अनुभव गर्दैछन् ।

 

निर्माण टिमले आज एक औपचारिक कार्यक्रम गरेर चलचित्रमा समावेश ‘छड्के सलाम’ बोलको गीत सार्वजनिक गरेको छ । कार्यक्रममा निश्चल र स्वस्तिमा साँच्चीकै दुलाह–दुहलीजस्तै प्रस्तुत भएका थिए । स्वस्तिमा बेबी ब्लू कलरको लेहेंगा र ब्लाउजमा सिँगारिएकी थिइन् भने निश्चिल पनि उस्तै कलरको कोट पाइन्टमा देखिए । 

कार्यक्रममा बोल्दै निश्चलले सोसल कमेडी ड्रामा जनराको चलचित्र बनेको बताए । दशैँको माहोलमा दर्शकलाई बिहेको मूडको कथावस्तु पस्किन लागिएको हो ।

टिप्पणीहरू