‘स्टण्टबाजी’ मा कुनै रुची छैन : प्रधानमन्त्री

सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका लागि कुनै योगदान नगरेकालाई सामाजिक सञ्जालमा हिरो बनाउने काम भइरहेको बताउनुभएको छ । आज पार्टीको खेलकुद महासंघको केन्द्रीय समिति तेस्रो बैठकलाई सम्बोधन गर्दै उहाँले देशका लागि योगदान दिनेहरुलाई संगठित रुपमै बदनाम गर्ने काम भइरहेको बताउनुभएको हो । 

‘कुनै योगदान नभएकाको तारिफको पुल दुई चार वर्ष सामाजिक सञ्जालबाट गराएर महान बनाउन खोजिएको छ’, उहाँले भन्नुभयो, ‘जसले देशको लागि काम गरेको छ, तिनीहरुलाई बदनाम, अपमान गरेर हुर्मत लिन खोज्ने संगठित प्रयासहरु भएका छन् ।’ 

प्रधानमन्त्री ओलीले अघिल्लो सरकारलाई लक्षित गर्दै यो सरकारलाई ‘स्टण्टबाजी’मा कुनै रुची नभएको उल्लेख गर्नुभयो । ‘स्टण्टबाजी गरेर भ्रष्टचार छोप्नको लागि हैन, भ्रष्टाचार खोज्ने र कारबाही गर्नको लागि बनेको हो यो सरकार’, उहाँले थप्नुभयो । 

सरकारले भ्रष्टाचारको सवालमा शून्य सहनशीलताको नीति लिएको पनि प्रधानमन्त्रीले दोहोर्याउनुभयो । उहाँले संसदमा बोलेको कुरा स्मरण गर्दै भन्नुभयो, ‘यो क्याबिनेटले भ्रष्टाचारप्रति शुन्य सहनशीलता राख्छ, अनुहार हेरेर र मान्छेको मुख हेरेर कुनै पनि व्यवहार गरिँदैन । कानुनले व्यवहार गर्छ । आनन्दको नेपाल बनाउन चाहन्छौं हामी ।’


 

टिप्पणीहरू