दिल्लीमा पनि नेपाली गुप्तचर फेरिँदै

दिल्लीमा पनि नेपाली गुप्तचर फेरिँदै
सुन्नुहोस्

राष्ट्रिय अनुसन्धान विभागको विभिन्न प्रदेशमा कार्यरत डिआइजीहरू सरुवामा परेका छन् । प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले फाइलमा हस्ताक्षर गरेपछि जिम्मेवारी हेरफेर भएको हो । ओलीले नेपाल प्रहरीका चार जना एआइजीको जिम्मेवारी हेरफेर गरेकै दिन उनीहरूलाई पनि फेरबदल गरेको बताइन्छ ।

मधेश प्रदेशका गुप्तचर प्रमुख सञ्जय यादवले बागमती प्रदेश कार्यालय हेटौंडामा सरुवा भएपछि घोर असन्तुष्टि व्यक्त गरेका छन् । चालु आर्थिक वर्ष यादवले मधेश प्रदेश सरकारबाट २ वटा स्कर्पियो गाडी किन्ने बजेट विनियोजन गराएको श्रेय लिएका छन् भने गत वर्ष २४ वटा मोटरसाइकलको बजेट पनि ल्याउन सकेका थिए । २० लाख बराबरको कम्प्युटरलगायत सामग्री पनि प्रदेश सरकारलाई किन्न लगाएकै हुन् । यादवले मैले मोटरसाइकल, गाडी र कम्प्युटर ल्याएँ भनेर दावा ठोक्दै गर्दा विभागको मुख्य काम सूचना संकलनको अवस्था चैँ के के भयो भन्ने प्रतिप्रश्नमा वाल्ल पर्ने गरेका छन् ।

अब सरुवा हुने एसएसपीको पालो आएको छ । गुप्तचरका लागि दिल्लीस्थित नेपाली राजदूतावास राम्रो आम्दानी हुने ठाउँ हो । सो स्थानमा जान एसएसपी विकास पाण्डे र हाल एयरपोर्टमा रहेका पप्पु शर्मा पौडेललगायतबीच कडा प्रतिस्पर्धा जारी छ । पाण्डे हुतराज थापालाई प्रमुख अनुसन्धान अधिकृत बनाउन भूमिका खेलेबापत गुणको बदला पाइनेमा ढुक्क देखिन्छन् भने कांग्रेसनिकट भनी चिनिएका पौडेलले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको भतिजा भएको दावा ठोकेका छन् । पौडेलको घर पनि तनहुँ नै हो । अहिले नयाँ दिल्लीमा नुवाकोटे राजन उप्रेती कार्यरत छन् ।

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालको दौंतरी भाञ्जोका रूपमा पनि चिनिएकाले उनकै थमौती हुने सम्भावना पनि उत्तिकै छ । त्यसैगरी ललितपुर जिल्ला प्रमुख भूमि पाठकले पनि नयाँदिल्ली जाने चाहना व्यक्त गरेको बताइन्छ । विदेशको एकमात्र पोष्टिङ पाउने गुप्तचर हाकिमले डलरमा तलब पाउने भएकाले यस्तो हानथान भएको स्रोतको दाबी छ।

मुख्यालयमा रहेर सबै प्रदेशबाट प्राप्त सूचना संकलन गरी रिपोर्ट तयार पार्ने एसएसपी दर्जाका नवीन अधिकारी छन् । सबैभन्दा वरिष्ठ उनले भने काठमाडौं जिल्ला प्रमुखको जिम्मेवारी लिन खोजेको बताइन्छ तर उनलाई रिवेन्द्र गच्छदारले चुनौती दिएका छन् । रिवेन्द्र पूर्वमन्त्री विजय गच्छदारका भतिज हुन् ।

यसैगरी दाङका नरेश शाहले पनि काठमाडौं जिल्लामा रुची देखाएका छन् भने कथमकदाचित नयाँ दिल्ली जान नपाए ललितपुर र काठमाडौंमध्ये एक ठाउँमा भए पनि सरुवा गर्नुपर्ने अर्जी पप्पु शर्माले हालेको बताइन्छ । पप्पु यसअघि ललितपुरको प्रमुख थिए । नयाँ दिल्लीमा कार्यकाल तीन वर्षे भए पनि थापा प्रमुख भएपछि माधव तिम्सिनालाई १३ महिना नबित्दै फिर्ता बोलाएर राजनलाई पठाएका थिए ।

हेटौंडास्थित तालिम केन्द्र, काठमाडौं एयरपोर्ट र काठमाडौं सिडियो कार्यालय हुन् । यी कार्यालयमा बजेट प्रशस्त हुने गर्दछ । वर्तमान प्रमुख थापाका ब्याची एसएसपी नरेन्द्र दाहाल गन्तीमा छैनन् भने विभागमा तैनाथ विष्णुमणि आचार्यलाई मापसेप्रेमी भनेर हेप्ने गरिएको छ । 

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू