नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

नेपाली पत्रकार जंगलैजंगल अमेरिकातिर

अमेरिका जान्न भन्ने नेपालीहरू सायदै होलान्! तर जान्छु भन्दा पनि पालो नपाउने—नआउनेचाहिँ लाखौँ छन् ।

अमेरिका सबैलाई मनपर्छ । अझ भनौँ— रुकुम, रोल्पा, सल्यान र दाङको सबैभन्दा ठूलो सपना त्यही अमेरिका नै हो । अमेरिका जाने दुइटा बाटो छन् । एउटा— कागजी प्रक्रिया पूरा गरी उडेरै जाने । दोस्रोचाहिँ— मानवतस्करलाई ५० लाखदेखि ८० लाखसम्म बुझाएर ‘तल्लो बाटो’ रोज्ने । 

तल्लो बाटो भन्नेबित्तिकै धेरै जनाको दिमागमा रुकुम, रोल्पा र दाङको याद आउँछ । यहीँनेरबाट सबैभन्दा धेरै युवा हिँडेरै अमेरिका गइरहेका छन् । उनीहरूमध्ये कोही महिनौँको सास्तीपछि अमेरिका पुग्छन्, कोही सीमापार गर्न नपाउँदै फर्काइन्छन् । कोही अकालमै ज्यान गुमाउँछन् । कोही पालो कुर्दै यताउता अड्किएका छन् । तल्लो बाटो अमेरिका जानेहरूका कथा—व्यथा भनिसाध्य छैन, लेखिसाध्यै छैन तर रमाइलो भनौँ वा दुःखद कुराचाहिँ रुकुम, रोल्पा, सल्यान र दाङका एकहुल पत्रकार ‘सपनाको देश’ अमेरिका पुगेपछि वा पुग्नैलाग्दा बाँकी सहकर्मी यता थकथक मान्न बाध्य छन् ।

तीमध्ये कति त पानामा र कोलम्बियाको डरलाग्दो जंगल ड्यारियन ग्यापमा हिँडिरहेका छन् । कलम र माइकको सहाराले देशभित्रै सुन्दर जीवन जिउन मुश्किल परेको देखेपछि उनीहरू ‘तल्लो बाटो’ हुँदै अमेरिका पुगेको ब्यापक चर्चा छ । त्यसरी पुग्नेले मानवतस्करलाई ५० देखि ८० लाखसम्म सुम्पिएको बताइन्छ । 

त्यसरी हिँडेरै अमेरिका जाने चार जिल्लाका १२ पत्रकारमध्येकै हुन्–रुकुमका हरि गौतम । उनी कान्तिपुर दैनिकमा काम गर्थे । रुकुमकै धुर्व बुढाथोकी रेडियो सानीभेरीका अध्यक्ष हुन् । त्यस्तै, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुमका कोषध्यक्ष तथा रेडियो चौरजहारीका स्टेशन म्यानेजर ज्ञानु गौतम पनि अमेरिका पुगिसके। रुकुमकै बीरबहादुर मल्ल, भुपेन्द्र केसी, तिलक वली र डम्बर विष्ट पनि बाटैमा छन् । मल्ल सानीभेरी रेडियोमा काम गर्थे, केसी नयाँ युगबोध दैनिकका लागि रिपोर्टिङ गर्थे, वली प्रेसपालिकामा काम गर्थे र विष्ट पत्रकार महासंघका साधारण सदस्य थिए। 

त्यस्तै, पत्रकार महासंघ रोल्पाका उपाध्यक्ष सन्तोष शर्मा पनि अमेरिका पुगेका छन् । उनी पनि महँगो पैसा तिरेर गएको सहकर्मी चर्चा गर्छन् । पत्रकार महासंघ सल्यानका अध्यक्ष नवीन पौडेल र दाङका पत्रकार इन्द्र डिसी, सुवास डिसी र दीपक घिमिरे पनि तल्लो बाटो हुँदै अमेरिका पुगे । इन्द्र प्रेस चौतारी दाङका अध्यक्ष हुन् । सुवास र दीपकचाहिँ पत्रकार महासंघ दाङमा थिए । 

अमेरिका पुगेका यी पत्रकारले यतिबेला आफ्नो दुःख र आम्दानीको फेहरिस्त सुनाउँदा बाँकी पत्रकार पनि उतै जान हौसिएका देखिन्छन् । अमेरिका जान भनेर दुबई उडेका प्रेस चौतारी दाङका सदस्य सुवास शर्माचाहिँ दलालले पैसा खाएर धोका दिँदा युएईमै अड्किएका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू