किन भित्री अवस्था फरक हुँदै गयो कमरेड !
एमाले अध्यक्ष केपी शर्मा ओलीको एकलौटी चल्दै आएको सत्तारुढ नेकपा एमालेमा गुटगत राजनीति देखिनेगरी सतहमा आएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहितको टोलीलाई ओलीले गुटबन्दी नगर्न चेतावनी दिएसँगै एमालेभित्र भुसको आगोझैँ गुम्सिएर रहेको कित्ताबन्दीको राजनीति आइतबार बालुवाटारमा छताछुल्ल भएको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको टोली प्रधानमन्त्री भेट्न शुक्रबारै काठमाडौँ आइपुगेको थियो । प्रदेश सरकार र गठबन्धनबारे कुरा गर्न आएको टोलीमा मुख्यमन्त्री र सबै मन्त्री थिए । तर, ओली बिरामी भनेर तीन दिन पर्खाई उनीहरूलाई आइतबार बल्ल भेट्ने समय दिइयो । कांग्रेसबाट मन्त्री भएकाहरूसमेत सहभागी रहेको उक्त भेटघाटमा एमालेभित्र दुई गुटको नेतृत्व गर्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि थिए । तर, भेटमा प्रदेश सरकारबारे होइन एमालेको गुटबन्दीबारे बढी चर्चा भयो ।
महासचिव शंकर शुरुबाटै बालुवाटारमा थिए भने विष्णु एक घण्टा ढिलो पुगे । जानकार स्रोतका अनुसार ओलीले गठबन्धनका अनेक कथा कहानी सुनाइरहेको बेला पौडेल फुत्त छिरेपछि बोली फेरियो । र, उहाँ भन्न थाल्नुभयो, ‘गुटबन्दी गर्नेलाई तह लगाउँछु !’ त्यति मात्र भन्नुभएन उहाँले, लुम्बिनीको मुख्यमन्त्री आफ्नो रोजाइमा छानिएको स्पष्टीकरण दिंदै चेतनारायणको खुलेर तारिफ पनि गर्नुभयो । र, राम्रोसँग काम गर्न सल्लाह दिनुभयो । लीला गिरीले मिडियावाजी गरेको भन्दै चित्त दुखाएका उहाँले भूमिश्वर ढकालको नाम लिँदै पटक–पटक प्रशंसा गर्नुभयो । संसदीय दलको नेता भैकन पाखा पारिएका लीला विष्णु निकट र ढकाल शंकरको मान्छे भनेर चिनिएका छन् ।
प्रधानमन्त्री तथा अध्यक्ष ओलीको प्रवचन सकिएलगत्तै विष्णु बालुवाटारबाट निस्किए भने एक घण्टापछि मुख्यमन्त्री चेतनारायण र मन्त्रीहरू भूमिश्वर, सीता शर्मा चौधरीसहित शंकर सिधै पार्टी कार्यालय च्यासल गए । शंकरको गृहजिल्ला दाङकी सीताको आइतबारै थापाथलीस्थित नर्भिक अस्पतालमा पाठेघरको अप्रेशन भएको थियो । काँग्रेसी कोटामा मन्त्री बनेका डन पृष्ठभूमिका रोज राणा भने दलबलसहित सिनामंगलस्थित कटिया हाउसमा छिरेका थिए ।
यो सन्दर्भ यहाँ किन उल्लेख गरिएको हो भने– संस्थापक नेताहरूको ठूलोपंक्ति बाहिरिएसँगै एमालेमा ओलीको एकाधिकार देखिन्छ । उहाँलाई चुनौती दिने नेताहरू छैनन् । तथापि बेलाबेला गुटबन्दीको चर्चा गर्नुहुन्छ । गतहप्ता पार्टी कार्यालयमा नयाँ केन्द्रीय सदस्यहरूलाई शपथ गराउँदा पनि गुटबन्दी स्वीकार्य नहुने चेतावनी दिनुभएको थियो । दुई गुटको अगुवाई गर्ने भनिएका विष्णु र शंकरलाई दुईतिर राखेर कांग्रेस नेताहरूकै अगाडि ओली हप्कीदप्कीको शैलीमा किन उत्रनुभयो ?
यसको जवाफ खोज्न दशौँ महाधिवेशनतिर फर्कनुपर्ने हुन्छ । सौराहा महाधिवेशनमा सर्वसम्मत अध्यक्ष हुने चाहना थियो । तर, भीम रावल चुनौती बनेपछि अन्तिम घडीमा खल्तीको नाम खल्तीमै राखेर अरुलेजस्तै उहाँले पनि बाक्सा थाप्नुपर्यो ।
विरोधी शून्य पार्टी चलाइरहनुभएका उहाँलाई गणितीय हिसाबले रावलको चुनौती केही पनि थिएन । र, परिणाम पनि त्यस्तै आयो । तर, अध्यक्षमा प्रतिस्पर्धा नै नगराएर पार्टीमा आफू सर्वस्वीकार्य रहेको सन्देश दिन सफल नभएपछि ओलीको दिमागमा त्यतिबेलैदेखि गुटको त्रास छिरेको दश भाइ समूहका एक नेताले नाम नलेख्न आग्रह गर्दै सुनाए ।
एमालेमा अहिले ओलीको उत्तराधिकारीका रूपमा आफूलाई अघि सार्ने होडबाजी छ । ओली गुटकै दुई भाइ उपाध्यक्ष विष्णु र महासचिव शंकर त्यसमा सबैभन्दा अगाडि छन् । लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने यी दुईको पार्टीमा देशव्यापी सञ्जाल छ, भनिन्छ । यसअघि लुम्बिनीको अध्यक्षमा भएको प्रतिष्पर्धालाई त्यहाँका नेता–कार्यकर्ताले विष्णु भर्सेज शंकरका रूपमा नै हेरेका थिए । ‘नेक टु नेक’ प्रतिष्पर्धा भएको लुम्बिनीको परिणाम विष्णुको पक्षमा गयो ।
पार्टी संगठनमा कमजोर देखिएका शंकर त्यसको बदला लिने उपयुक्त मौकाको पर्खाइमा थिए । दलको नेता लीला गिरीलाई पाखा लगाएर उपनेता चेतनारायणलाई मुख्यमन्त्री बनाइनुको सन्दर्भ यसरी जोडिने एमाले नेताहरू बताउँछन् ।
स्रोतका अनुसार ओलीले शंकरका मान्छे चेतनारायणलाई च्याप्नुमा राजनीतिकसँगै अन्य कारणसमेत छन् । नेकपाकालमा शंकरको सरकार टिकाउन करोडौँ खर्च भएको र त्यसवापत लागेको ऋण तिर्न विश्वासपात्र खोज्नेक्रममा चेतनारायणलाई अघि सारिएको उक्त स्रोतको दावी छ । त्यतिबेला केन्द्रमा ओलीले संसद विघटन गरेपछि लुम्बिनीमा शंकरको सरकार संकटमा परेको थियो । सरकार टिकाउन साना दल तोडफोड गर्नेदेखि आफ्नै पार्टीका सांसदलाई ‘अपहरण’ गर्नेलगायत सबै प्रयास भएकै हुन् । त्यसक्रममा ३ करोड खर्च भएको र ५० लाख शंकरले पार्टीबाट लगेको बताइन्छ ।
‘त्यसबेला शंकरलाई मुख्यमन्त्रीमा थमौती गर्न ३ करोड खर्च गरेका थिए । लोसपाका सर्वेन्द्रनाथ शुक्ला, जसपाका सन्तोष पाण्डे, पाल्पाकी फूलकुमारी ढेंगा र विमला वलीलाई रामै धनराशी दिइएको हो । त्यो हिसाबकिताब मिलाउन ५० लाख पार्टीबाट लगेका थिए’, एमाले लुम्बिनीका एक सांसद दावाका साथ भन्छन् । उनका अनुसार बाँकी पैसा जुटाउन शंकरले राजनीतिक नियुक्तिलगायतमा आफूले भनेअनुसार गर्न छोटो समय मुख्यमन्त्री हुँदा लीलामाथि चर्को दबाब बढाएका थिए । त्यसैअन्तर्गत दाङबाट तिरन गौतमलाई खेलकुदको सदस्य सचिव बनाइएको बताइन्छ ।
तर, लीलाले विष्णुतिर झुकाव राखेपछि यसपटक उनलाई मुख्यमन्त्री बनाइएन । एमालेले लुम्बिनीमा मन्त्री छान्दा पनि ‘लेनदेन’ भएको एकथरीको आशंका छ । ९ सदस्यीय क्याबिनेटमा मुख्यमन्त्रीसहित पाँच जना एमालेका छन् । जसमध्ये एक हुन्– पाल्पाका खेमबहादुर सारु । निजी विद्यालय सञ्चालक उनलाई यसअघि लीलाले मन्त्री बनाउँदा शंकर समूहले बोर्डिङवालालाई किन भन्दै प्रदेश अध्यक्ष राधाकृष्ण कँडेललाई हप्काएको थियो । अहिले उनै खेमबहादुर शंकरको रोजाईमा स्वास्थ्यमन्त्री बनेका हुन् ।
खासमा एमाले लुम्बिनीको डाइनामिक्स यसरी बदलिएको प्रदेश अधिवेशनदेखि नै हो । त्यसताकासम्म लीला शंकर समूहकै भनेर चिनिन्थे । तर, उनी विष्णुतिर लागे भने हरि रिजाल, कुमार दसौँदी, भूमिश्वर, मुख्यमन्त्री चेतनारायण र केन्द्रीय मन्त्री बलराम अधिकारीलगायत शंकर गुटमै अडिग रहे । प्रदेश अध्यक्ष आफ्नो पक्षमा हुँदाहुँदै किन विष्णु कमजोर भए ? आफूले पद पाएपछि बोल्न नसक्ने भएकाले कमजोर देखिए पनि तल ग्राउण्ड भने उनकै पक्षमा छ, भनिन्छ ।
‘माथि नेतृत्व गर्ने मान्छेले खुट्टा नटेकेकाले मात्र हो, तल त राम्रो छ । ओलीको रवैयाप्रति असन्तुष्टहरू जाने ठाउँ नभएर उकुसमुकुसको अवस्थामा छन्’, उनै प्रदेश सांसद सुनाउँछन् ।
त्यसो त, एमालेमा अहिले पदाधिकारी तहका नेतासमेत अध्यक्ष ओलीसँग सीधा आँखा जुधाएर कुरा गर्न सक्ने अवस्थामा छैनन् । तर, प्रदेश र जिल्लामा भने एमालेको संगठन क्रमशः प्रतिकूल हुँदै गएको परिणामबाट देखिन्छ । प्रदेश र जिल्ला अधिवेशनका दौरान ओली पुगेका अधिकांश ठाउँमा फरक नतिजा आएबाट त्यो पुष्टि हुन्छ ।
जस्तोः सार्वजनिक मञ्चबाटै लुम्बिनीमा चुनाव नगराउन उहाँको निर्देशन थियो । तर, चुनाव भयो मात्र होइन शंकर पक्षका हरि रिजाल पराजित भए । गण्डकीमा धेरैजसो पृथ्वीसुब्बाका मान्छे आए । बागमतीमा ओली आफैँले प्रचार गर्दा पनि कैलाश ढुंगेलले मुश्किलले अध्यक्ष जिते ।
कोशीमा पूर्वराष्ट्रपति विद्या भण्डारी निकट भनिएका विनोद ढकालविरुद्ध सारा एकातिर हुँदा पनि जम्मा ६० भोटको फरक प¥यो । उनको पक्षमा एकजना भीम आचार्य मात्र थिए भने घनश्याम खतिवडालाई ओलीसहित हिक्मत कार्की, भानुभक्त ढकाल, गुरु बराल, शिवमाया तुम्बाहाङ्फेलगायत केन्द्रीय नेताको समर्थन थियो ।
ओली आफैँ उपस्थित भएर भोट मागेका लुम्बिनीका विभिन्न जिल्लामा पनि कार्यकर्ता थामिएनन् । कपिलवस्तु, बाँकेलगायत जिल्लामा ओलीको समर्थनप्राप्त उम्मेदवार पराजित भए । बाँकेमा बालकोटका उम्मेदवार भनेर प्रचार गरिएका डिल्ली बिसीमाथि दश भाइ समूहका निरज गुरुङ हावी भए । दाङमा शंकरले जबर्जस्त आफ्ना ज्वाइँलाई निर्विरोध नगराएको भए परिणाम अर्कै हुन्थ्यो भन्छन्, त्यहाँका नेताहरू । यस्तो स्थिति लुम्बिनीमा मात्र होइन अन्य जिल्लामा पनि देखियो । ओली आफैँ उपस्थित भएर भोट मागेको गोकुल बाँस्कोटाको जिल्ला काभ्रेमा पनि सोचेजस्तो परिणाम आएन ।
‘तल पूरै उकुस मुकुसको अवस्था छ । अलि हाइट पुग्ने मान्छे उठ्ने हो भने आउने महाधिवेशनमा ओलीलाई पनि हराइदिन्छन्’, एक नेता भन्छन्, ‘तर, सबै सास भएका लास भैसकेका छन् । देउवाले गिरिजाविरुद्ध उठेर ११८ भोट ल्याएको होइन ?’ पछि त्यही जगमा सभापति भए । त्यस्तै हिम्मत गर्ने मान्छे नभएर हो, नत्र तलका कार्यकर्ता त ओली र शंकरको एकलौटीले आजित भइसकेका छन् ।’
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू