छिटो विद्युत वितरण गर्ने योजनामा आरती पावर

छिटो विद्युत वितरण गर्ने योजनामा आरती पावर

आरती पावर कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता एकसय रुपैयाँको दरमा ३६ लाख साधारण सेयरको सार्वजनिक निष्कासनका निम्ति कम्पनीले ग्लोबल क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको जनाइएको छ । 

कम्पनी र क्यापिटलबीच सेयर निष्कासनसम्बन्धी द्विपक्षीय सम्झौतासमेत भएको छ । आरती पावरको केन्द्रीय कार्यालय काठमाडौंको खुर्सानीटारमा कम्पनीका कार्यकारी अध्यक्ष भरतबहादुर खत्री र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

२०७२ सालमा प्रालिको रुपमा दर्ता भएको आरती पावर २०८० मा पब्लिक कम्पनीको रुपमा परिणत भएको हो । कम्पनीको अधिकृत पूँजी एक अर्ब ४० करोड, जारी पूँजी एक अर्ब ४० करोड र चुक्ता पूँजी एक अर्ब चार करोड छ । त्यसमध्ये कम्पनीले ३६ करोड रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । 

कोशी प्रदेशको भोजपुरमा अवस्थित कम्पनीको माथिल्लो इर्खुवा जलविद्युत आयोजना त्यहाँको प्रमुख बजार दिङ्लाबाट करिब १२ किलोमिटर उत्तर पश्चिममा पर्छ । आयोजनास्थल साल्पा सिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा पर्छ । 

परियोजनाको मुख्य संरचना हेडवर्क, सर्ज ट्यांक र पावरहाउस इर्खुवा खोलाको बायाँ किनारमा अवस्थित छ । १४.५ मेगावाटको क्षमताको उक्त आयोजनालाई राष्ट्रिय प्रशारण लाइनमा जोडेर यथाशक्य छिटो विद्युत वितरण गर्ने योजना बनाइएको छ ।

टिप्पणीहरू