कन्सर्टमा अनिच्छुक गायिकाकाे स्टुडियोमा निरन्तरता

कन्सर्टमा अनिच्छुक गायिकाकाे स्टुडियोमा निरन्तरता

विष्णु माझी, जसको वास्तविक अनुहार र जीवनबारे कसैलाई थाहा छैन । तर उनको समुधुर स्वरमा दर्शक÷स्रोत लठ्ठ बनेको पाइन्छ । अझै खासगरी जब तिज आउछ, माझीको गीत नसुनुञ्जेल तीजकै महशुस नहुने कतिपयको टिप्पणी छ । 

तीज आउनुभन्दा दुई महिनाअघि देखि नै बजारमा सयौँ गीत आइसकेका छन् । कतिपय गीत त, चर्को आलोचना र विवादपछि हराइ पनि सके । तर गायिका माझीले भने तीजको संघारमा ल्याएको ‘आइन आमा यो तीजमा’ बोलको गीतले यतिबेला तहल्का पिटेको छ । 

सपना म्युजिक इन्ड्रष्ट्रिजले बजारमा ल्याएको उक्त गीतलाई दुई दिनमै करिब ३४ लाख हेरिसकेका छन् । यसले छोटो समयमा सबैभन्दा धेरै पटक सुनिने गीतको रेकर्ड समेत बनाएको छ । गीतमा शब्द र संगीत सुन्दरमणि अधिकारीको छ । जो, गायिका माझीकै श्रीमान् हुन् । 

तीज गीतको नाममा अराजकता र उच्छृंखलता मौलाइरहेको बेला माझीले मौलिकता जोगाएको भन्दै दर्शकहरुले गीतको प्रशंसा गरेका छन् । यद्यपि, यसरी चर्चामा आएको यो माझीको पहिलो गीत भने होइन । प्रत्येक वर्ष तीजको अवसरमा पारेर उनले ल्याउने अधिकांश गीतले नयाँ रेकर्ड बनाएको देखिन्छ । 

यसअघिका वर्षहरुमा उनले ल्याएका ‘आहै मेरो बलमा’, ‘चरी जेलैमा’, ‘मार्यौ दैया’, ‘हे आमा हो’, ‘हाय मेरो फरिया’ लगायतका गीतलाई पनि दर्शकले निकै रुचाएका थिए ।

रोचक के छ भने, सबै गायक÷गायिकाहरु लोकप्रियता र पैसाको लागि विभिन्न सांगीतक कन्सर्टमा सहभागी हुन्छन् । तर गायिका माझी भने यसमा अपवाद छिन् । उनी अहिलेसम्म कुनै पनि कन्सर्टमा सहभागी भएकी छैनन् । सामाजिक सञ्जालमा उनको एउटा पासपोर्ट साइजको फोटोबाहेक अरु कुनै तस्बिर र भिडियो भेटिँदैन । पारिवारिक स्रोतलाई आधार मान्ने हो भने माझीलाई सार्वजनिक जीवनशैली मन पर्दैन, उनी नीजि तवरले बाँच्न चाहन्छिन् । 

गत वर्ष माझीलाई एक कन्सर्टमा सहभागी गराउन एउटा कार्यक्रम आयोजकले १५ लाख अफर समेत गरेको थियो । तर माझीले त्यसमा कुनै चासो देखाइनन् । बरु उनले गीत रेकर्ड गर्दा ज्यादा पारिश्रमिक लिने गरेको बताइन्छ । गायिका शान्तिश्री परियारका अनुसार माझीले एउटा गीत रेकर्ड गरेवापत तीनदेखि चार लाख पारिश्रमिक लिन्छिन् । जुन, नेपाली संगीतमा सबैभन्दा बढी हो । सामान्यतयाः चल्तीका गायक/गायिकाहरुले एउटा गीतको एकदेखि दुई लाख र नयाँ कलाकारले एउटा गीतको २० देखि ५० हजारसम्म लिएको पाइन्छ ।

टिप्पणीहरू