निर्माण व्यवसायीसँग पाँच महिनाको ब्याज नलिन निर्देशन
नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीलाई कर्जा तिर्न थपिएको पाँच महिने अवधिको ब्याज नलिन बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निर्माण व्यवसायसम्बन्धी कर्जाको थप भुक्तानी अवधिको कुनै पनि किसिमको शुल्क तथा ब्याज नलिन भनेको हो । चालु आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिमार्फत निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी समयावधि थप गरिएको थियो ।
‘निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याजलाई २०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्न सकिने गरी बैंक तथा वित्तिय संस्थाले समयावधि थप गर्नुपर्ने व्यवस्था गरिएको छ,’ सूचनामा उल्लेख छ ।
यसरी बैंक तथा वित्तिय संस्थाले यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न तथा कुनै किसिमको पेनाल ब्याज, शुल्क, हर्जाना तथा ब्याजको ब्याज लिन नपाउने राष्ट्र बैंकले जनाएको छ । तर, सो थप अवधिभित्र कर्जाको साँवा र ब्याज भुक्तानी नगरेमा बैंक तथा वित्तिय संस्थाले पूर्वनिर्धारित सर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन पाउने राष्ट्र बैंकको भनाइ छ ।
टिप्पणीहरू