सरकार उदांगो भएको माओवादी केन्द्रको दावी

माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रदेश सरकारहरुको अवस्थाले दुई ठूला पार्टीको समीकरण उदांगो भएको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले प्रदेश सरकारहरुमा भइरहेको भागबण्डा र लाजमर्दो राजनीतिले संघीय गठबन्धनको असली रुप छर्लंग भएको उल्लेख गरेका हुन् ।

‘कोशीमा सरकारले अझै पूर्णता पाउन सकेको छैन । गण्डकीमा सात वटा मन्त्रालय छन्, तर १० जना मन्त्री बन्दैछन् । कर्णालीमा अनावश्यक एक जना मन्त्री थप गरियो’, उनले प्रदेशको हविगत बताए, ‘बागमतीमा मन्त्रालयको टुंगो नलगाइ सपथ लिइसके, लुम्बिनी र सुदूरपश्चिममा समेत मन्त्री र मन्त्रालय बढाउने तयारी भइहरेको छ, मधेशमा त झन् कुरै गर्नु परेन, राज्यमन्त्रीको लर्कोपछि मुख्यमन्त्रीको स्पष्टीकरण !’ 

सांसद सापकोटाले प्रदेशमा एउटा मन्त्रालय फुटाउँदा न्यूनतम १० करोड आर्थिक भार थपिने पनि जानकारी गराए । राज्यशक्ति दोहनकै लागि तछाडमछाड चलिरहेको बताउँदै थपे, ‘आन्तरिक आम्दानीले साधारण खर्चसमेत धान्न मुश्किल भएको आर्थिक सुचकाङ्कले देखाएको छ, तर यी दुई ठूला पार्टीको गठबन्धन स्वार्थ, भागबण्डा र राज्यशक्तिको दोहनको लागि हो भन्ने स्पष्ट भयो ।’

टिप्पणीहरू