निमुखा नेपालीको मिर्गौला भारत पुर्याएर झिक्ने क्रम यथावत
भारतको कोलकाता पुर्याएर मानव अंग मिर्गौला बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । ललितपुरको महालक्ष्मी नगरपालिका–८, बस्ने ३७ वर्षीय शंकर खत्री र मकवानपुरको भीमफेदी गाउँपालिका–२, की ४२ वर्षीया शान्तिमाया घलानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनीहरुले आर्थिक अवस्था कमजोर भएकालाई मिर्गौला बिक्री गरेमा १० लाख रुपैयाँ कमाउने आश्वासन दिएका थिए । मानिसको शरीरमा दुईटा मिर्गौला हुने र एउटा झिक्दा अर्कोले राम्रोसँग काम गर्न सक्ने भएकाले केही समस्या नहुने प्रलोभन देखाउँथे ।
प्रहरीका अनुसार उनीहरुले जाहेरवालाको स्वास्थ्य परीक्षण गराई यकिन गरेर काठमाडौँबाट वीरगञ्ज जाने सुमोमा चढाई वीरगञ्जबाट भारतको कोलकातामा पुर्याएका थिए । त्यसपछि जाहेरवालाले मिर्गौला प्रत्यारोपण गर्न अस्वीकार गरेका छन् ।
तर, विभिन्न किसिमको धाकधम्की दिएर उनीहरुले जबरजस्ती मिर्गौला प्रत्यारोपण गरेको पाइएको छ । साथै, मिर्गौला प्रत्यारोपण गर्ने व्यक्ति एकाघर परिवारको रहेको भनी विश्वास मिलाउन जाहेरवालाको नेपाली नागरिकताको प्रमाणपत्र समेतका कागजातहरु झुट्टा बनाएको खुलिन आएको छ ।
प्रहरीका अनुसार मिर्गौला बेचबिखनका लागि प्रलोभनमा पार्ने, आन्तरिक ट्रान्सपोर्ट गर्ने, कोलकाता पुर्याउने र रकम डिलिङ गर्ने कामहरु फरकफरक व्यक्तिहरुले गर्ने गरेको पाइएको छ । यता, जाहेरवालालाई भनेबमोजिम रकम समेत नदिई मिर्गौला प्रत्यारोपण नगरेको प्रहरी दाबी छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको टोलीले शंकरलाई अस्ति र शान्तिलाई आज नियन्त्रणमा लिएको हो । उनीहरुउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट नौ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जनाइएको छ ।
टिप्पणीहरू