नेपालगञ्जको सडक छेउमा आधा किलो सुन र १० किलो चाँदी

नेपालगञ्जको सडक छेउमा आधा किलो सुन र १० किलो चाँदी
सुन्नुहोस्

नेपालगञ्जको सडकमा करोडौँको सुनचाँदीको व्यापार गरेको अवस्थमा प्रहरीले चार जनालाई पक्रेर अनुसन्धान थालेको छ । नेपालगञ्ज उपमहानगरपालिका–११, बीपी चोक आसपासको क्षेत्रमा सुनचाँदीको अवैध कारोबार भइरहेको सूचनापछि  प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले प्रदेश ०३०१–०२४ च ६७६३ नम्बरको कारबाट सुनचाँदी फेला पारेको हो । नेपालगञ्ज उपमहानगरपालिका–११, बस्ने २१ वर्षीय राहुल सोनार, राप्तीसोनारी गाउँपालिका–४, का २४ वर्षीय ओमजंग चौधरी, बर्दियाको राजापुर नगरपालिका–८, बस्ने ४० वर्षीय नेपाली थारु र सोही नगरपालिका–४, का ४२ वर्षीय निमप्रकाश सुनारलाई कारसहित नियन्त्रणमा लिइएको थियो ।

प्रहरीका अनुसार त्यतिबेला नेपाली, राहुल र निमप्रकाशलाई सुनसहित नियन्त्रणमा लिइएको थियो । अनुसन्धानको क्रममा नेपालगञ्ज–२, स्थित महेश मुराउले सञ्चालन गरेको पशुपति सुन चाँदी रिफाइन कारखानामा प्रहरी पुगेर खानतलास गर्दा अवैध सुनचाँदी भेटिएको हो । प्रहरीले त्यहाँबाट ओमजंगलाई पक्रेको थियो ।

प्रहरीले ४०७ ग्राम सुन, १० केजी ६१३ ग्राम चाँदी बरामद गरेको छ । बरामद सुनचाँदीको मूल्य करिब एक करोड पाँच लाख ३३ हजार रहेको प्रहरी अनुमान छ । पक्राउ परेका चारै जनासहित बरामद सामानलाई थप अनुसन्धानका निम्ति राजस्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको छ ।

टिप्पणीहरू