पहिले तबला, अहिले हमला

पहिले तबला, अहिले हमला
सुन्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौंका मेयर बालेन साहबीच दुई वर्षअघि देखिएको मित्रवत सम्बन्धमा अहिले स्पष्ट रुपमा धाँजा फाटेको छ । 

उहाँहरुबीच २०७९ को जेठ दोस्रो साता पहिलो पटक भेट भएको थियो । त्यतिबेला स्थानीय तह निर्वाचनअन्तर्ग महानगरको मतगणना हुँदै थियो । कांग्रेसकी उम्मेदवार सिंर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापितलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालेन अग्रपंक्तिमा थिए । मतपरिणाम नआउदै प्रधानमन्त्री ओलीले बालेनलाई बालकोट बोलाएर शुभकामना दिनुभएको थियो  । 

दुवै जनाको भेटवार्ता र तस्बिरले त्यतिबेला मिडियामा राम्रै चर्चा पायो । पुरानो पुस्ताले नयाँ पुस्तालाई गरेको त्यसप्रकारको स्वागतलाई कतिपयले प्रधानमन्त्री ओलीको प्रशंसा समेत गरेका थिए ।

त्यसको एक महिनापछि बालकोटमै उहाँहरुबीच दोस्रो भेट भयो । यसपटक प्रधानमन्त्री ओलीले महानगरको विकासमा एमालेले सँधै साथ दिने प्रतिबद्धता बालेनसँग गर्नुभयो । भेटवार्तालाई अविस्मरणीय बनाउन उहाँले बालेनलाई तबला उपहार दिनुभयो । तबला आदान–प्रदानको तस्बिरले झन् चर्चा पायो । 

त्यसयता जब बालेनले महानगरभित्र सडक अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काउने अभियान चलाए, त्यसपछि प्रधानमन्त्री ओलीसँग खटपट शुरु भयो । त्यतिबेला बालेनले भत्काउन लागेका ठूला भवनहरु एमाले निकट व्यापारीहरुको रहेकाले त्यसो भएको बताइन्छ । 

आफू निकटस्थ व्यापारीहरुलाई संरक्षण गर्नु पार्टी अध्यक्षको स्वाभाविक धर्म रहेको एमालेजन बताउँछन् । तर कस्तो विषयमा जोगाउने र कस्तो विषयमा खबरदारी गर्ने, त्यो प्रधानमन्त्री ओलीले हेक्का राख्न नसकेको पनि एकथरी एमाले नेता तथा कार्यकर्ताको बुझाई छ । उल्टै प्रधानमन्त्रीले बालेनले सुकुम्बासीहरुको उठिबास लगाएको भन्दै कटाक्ष गर्नुभयो । यद्यपि, संरचना भत्काउनु कति सान्दर्भिक थियो र कति असान्दर्भिक ? त्यो चर्चाको अर्काे विषय हो । 

उहाँहरुबीचको तिक्तता त्यहि विन्दुबाट शुरु भएको थियो । त्यसयता बालेनले झापाको गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणलाई सतहमा ल्याएपछि द्वन्द्वको प्रभाव कार्यकर्ता र शुभचिन्तकमा समेत पर्न थाल्यो । पछिल्लो समय बागमती करिडोरको प्रकरण र त्यहाँ निर्माणधीन भौतिक संरचनाहरु रोक्का गर्ने बालेनको निर्णयपछि अनेस्ववियुका अध्यक्ष समिक बडालसमेत प्रधानमन्त्री ओलीको बचाउमा उत्रिए । 

संसदीय प्रणालीमा राजनीतिक दलको ठूलो अर्थ हुन्छ, त्यो स्वाभाविक पनि हो । तर बालेन पनि के कम ! युवापुस्तामा लोकप्रिय क्रेज बनाएको आडमा उनले दुई महिनाअघिको एमाले सांसदको बाल शोषण प्रकरणलाई पुनः सतहमा ल्याइदिए । 

उक्त विषयमा एमाले कार्यकर्ता र बालेनका शुभचिन्तकबीच ‘साइबर वार’ नै चलिरहेको छ । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा शर्माले विगत ८ वर्षदेखि एक नाबालिकालाई घरेलु कामदारको रुपमा हिंसा गर्दै आएको बालेनको दावी छ । दुई महिनाअघि महानगरले धुम्बाराहीस्थित सांसद शर्माकै घरबाट ती नाबालिकाको उद्धार गरेको पनि उनले जानकारी गराएका छन् । तर एमाले पंक्तिले भने बालेनद्वारा भ्रम फैलाइएको आरोप लगाएको छ ।

आइतबार साँझ बालेनले फेसबुकमा सांसद शर्माको तस्बिर सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई कारबाहीको माग गरेका थिए । महानगरले कारबाहीको माग गरेको, अदालतले पक्रन आदेश दिएको सांसद शर्मालाई सरकारले जोगाइरहेको बालेनको दाबी थियो । उनले सांसद शर्माले आफूलाई चोख्याउन महानगरभन्दा पहिल्यै अदालत पुगेर बन्दी प्रत्यक्षीकरणको मुद्दा हालेको पनि जानकारी गराएका छन् । 

सांसद शर्माले भने बा–आमाकै सहमतिमा ती नाबालिकालाई आफूले घरमा राखेको र पढाइरहेको दाबी गरेकी छन् । अनेरास्ववियुका नेता र एमाले कार्यकताले शर्माको भनाईलाई आधार मान्दै घटना सम्बन्धित बालेनको पहिलो स्टाटसमा रिर्पोट गरे । जुन स्टाटस अहिले बालेनको फेसकुबकाट डिलिट भइसकेको छ । 
फेसबुको सुरक्षा गाइडलाइन अनुसार कुनै पनि फोटो, भिडियो र स्टाटसमा धेरै रिपोर्ट पर्यो भने त्यो स्वतः डिलिट हुने प्रावधान छ । सोही आक्रोशमा बालेनले हिजो फेरि लेखे, ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’

बालेनको यो स्टाटसपछि जनताले प्रधानमन्त्री ओलीसहित एमालेका नेताहरुलाई अनफलो गर्ने अभियान चलाइरहेका छन् । बहसको सतहमा आइसकेको सांसद शर्माको विषयमा सरकारले के गर्छ ? त्यो भने हेर्न बाँकी छ ।

टिप्पणीहरू