विमानस्थलमा सुनसहित दुई जना समातिए

विमानस्थलमा सुनसहित दुई जना समातिए
सुन्नुहोस्

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित दुई जना पक्राउ परेका छन् । प्युठानको सरुमारानी गाउँपालिका–१, बाङ्गेसारका ३१ वर्षीय समिर अहमद र खोटाङको दिपरुङ गाउँपालिका–५, बस्ने ३० वर्षीय देवराज खत्री समातिएका हुन् । 

हिमालय एयरलाइन्सको उडानमा कतारको राजधानी दोहाबाट काठमाडौं आएका समिरलाई करिब ५४ ग्राम बराबरको सुनको एक थान ढिक्का, एक थान बेरुवा औंठीसहित प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

प्रहरीले उनको मोबाइलसमेत कब्जा गरेको छ । वाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छलेर सुन ल्याउन लगाएको र आफूले अन्यत्र लैजान लागेको अवस्थामा विमानस्थलको पार्किङ एरियाबाट देवराजलाई समातिएको प्रहरीले जनाएको छ । 

उनको साथबाट प्रहरीले २५ ग्राम बराबरको सुनको एक थान सिक्रीसहित दुई थान मोबाइल र एक थान ल्यापटप बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका निम्ति विमानस्थल भन्सार कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू