मरुभूमि मनपर्ने, भीडसँग डराउने बलिउड कलाकार लाङटाङमा

मरुभूमि मनपर्ने, भीडसँग डराउने बलिउड कलाकार लाङटाङमा
सुन्नुहोस्

‘लुट’ लाई नेपाली चलचित्रको नयाँ टर्निङ प्वाइन्ट मानिन्छ । कारण, अभिनेताहरु दयाहाङ राई, सौगात मल्ल, निश्चल बस्नेतलगायत स्थापित मात्र भएनन्, चलचित्र निर्माणको परम्परागत शैलीमा पनि आमूल परिवर्तन भएको थियो । 
 

उता बलिउडमा पनि ‘ग्याङ्स अफ वाशेपुर’ उस्तै साबित भयो । सन् २०१२ मा रिलिज भएको यस चलचित्रले पनि बलिउडको परम्परागत निर्माण शैलीमा ठूलो परिवर्तन ल्यायो । भने, अभिनेताहरु नवाजुद्दिन सिद्दिकी, मनोज वाजपेयी, निर्देशक अनुराग कश्यपलगायतले हस्तक्षेपकारी उपस्थिति देखाउन सफल भए । 

हिरो बन्न आकर्षक अनुहार, लामो उचाई, गोरो छाला, सुगठित शरिर चाहिन्छ भन्ने भाष्यलाई नेपालमा दयाहाङले ब्रेक लगाए भने बलिउडमा नवाजुद्दिनले । उनै नवाजुद्दिन र अनुराग यतिबेला नेपालमा छन् । उनीहरु चलचित्र ‘शाम्बाला’को प्रिमियरमा सहभागी हुन अस्ति काठमाडौँ आइपुगेका हुन् । प्रिमियर सोही साँझ छायाँ सेन्टरमा सकियो । त्यसयता नवाजुद्दिन र अनुरागले लाङटाङ पुगेर दृश्यवलोकन गरेका छन् । 

दयाहाङ राई नेतृत्वको मण्डला थियटरले नवाजुद्दिन र अनुरागलाई एक कार्यक्रमको आयोजना गरेर नेपाली दर्शकसमक्ष साक्षात्कार पनि गरायो । जहाँ, उनीहरुले नेपाली कलाकार र दर्शकसँग रोचक अन्तक्रिया गरेका छन् । 

प्रस्तुत छ, अभिनेता नवाजुद्दिनसँग गरिएको अन्तक्रियाको सम्पादित अंशः 

कस्तो चलचित्रलाई राम्रो चलचित्र भन्ने ?

चलचित्र भनेको कुनै सर्कस होइन । हलमा गयो, दुई–तीन घण्टा हेर्यो, रमायो, अनि घर फर्कियो । एउटा राम्रो चलचित्रले दर्शकलाई बोध गराउँछ । वर्षौंसम्म दर्शकको मन र मस्तिष्कमा प्रहार गर्छ । यी पक्षमा सफल चलचित्र नै राम्रा मानिन्छन् ।

तपाईं थियटरबाट चलचित्रमा प्रवेश गर्नुभयो, कहिल्यै लागेको थियो कि कुनै दिन बलिउडकै अनुहार बन्छु भनेर ? 

पुरानो मान्यता अनुसार मेरो अनुहार हिरो बन्नको लागि लायक थिएन । छैन । तपाईंहरु आफंै हेर्नुहोस् (हाँस्दै), यो हिरो बन्ने अनुहार हो र ? तर मैले अभिनयलाई इमान्दारिताका साथ लिएँ । सुपरस्टार बन्छु भनेर अभिनय गरेको हैन । मैले अभिनयलाई पूजा गरेँ । कामलाई भगवान ठानेँ । काम गर्दै जाँदा दर्शकले मन पराइदिनु भयो, त्यो मेरो सौभाग्य हो । 

त्यसोभए कस्तो निर्देशकलाई राम्रो भन्ने ? 

त्यसको ठोस जवाफ मसँग छैन । तर राम्रो निर्देशकको उदाहरण अनुराग कश्यप हो । म मुम्बइमा थिइनँ (ग्याङ्स अफ वाशेपुरको किस्सा सम्झँदै) । गाउँ गएको थिएँ । उसले मलाई फोन गरेर भन्यो कि, एउटा म्याटर पठाएको छु, पढ । मैले पढेँ । त्यो फजेल खानको क्यारेक्टरको टेक्स्ट थियो । त्यो धेरै लामो थिएन । मात्र दुई चार पेजको थियो । मलाई फिल्मको कथा के हो भन्नेसँग खासै चासो भएन । फजेल खानको जुन क्यारेक्टर थियो, त्यो निकै एटिच्युडवाला क्यारेक्टर थियो । मलाई मनपर्यो । अनुरागले केही दिनपछि फेरि फोन गरेर भन्यो, तिमीले जस्तो क्यारेक्टरमा अभिनय गर्न चाहन्थ्यौ, त्यस्तै छ हैन त ? म छक्क परेँ । किनकि, मैले उसलाई कहिल्यै म यस्तो क्यारेक्टरमा काम गर्न चाहन्छु भनेर भनेको थिइन । एउटा राम्रो निर्देशकले कलाकारलाई अध्ययन गर्न सक्नुपर्छ, पढ्न सक्नुपर्छ । सायद, राम्रो निर्देशकको परिभाषा तपाईंहरुले बुझ्नुभयो होला । 

सलमान, शाहरुख, अमिर खानसँग विभिन्न क्यारेक्टरमा काम गरिसक्नुभयो, अब कस्तो क्यारेक्टरमा काम गर्न मन छ ?

म त शाम्बाला वालामा (हाँस्दै) । साँच्ची भन्ने हो भने मलाई रियालिस्टिक फिल्म नै गर्न मनपर्छ । पछिल्लो समय म कमर्सियलमा ज्यादा व्यस्त छु । त्यसको कारण व्याखा गर्न सकिएला । तर मेरो खास रुची शाम्बाला जस्तै हो । जो, रियालिस्टिक हुन् । 

कस्तो प्रकारको चलचित्र मनपर्छ ? 

मलाई थ्रिलर र सस्पेन्सभन्दा मानिसको आत्मालाई एक्सोप्लोर गर्ने चलचित्र मनपर्छ । जस्तो कोही एउटा मानिस सहीबाट कसरी गलत भयो ? वा गलतबाट कसरी सही भयो भन्ने कम्प्लिकेसनसहित देखाइएको चलचित्र मनपर्छ । 

कलाकारको ‘रियल’ जीवन र ‘रिल’को जीवनमा के फरक छ ?

रिलको जीवनको कुनै टुंगो हुँदैन । त्यो चलचित्रको कथाअनुसार फरक हुन्छ । तर रियलको कुरा गर्दा कलाकारको जीवनमा उसको व्यक्तित्वले ठूलो अर्थ राख्छ । कि कसरी बाँच्ने ? म त भन्छु, कलाकारहरु यथार्थमा बाँच्नुपर्छ । जे हो, त्यही देखाएर बाँच्नुपर्छ । हुन त अहिले ‘हम्बल’, ‘डाउन टु अर्थ’ भन्ने पनि फेशन भइसक्यो । तर कलाकारका लागि यी कुराले धेरै फरक पार्छ । 

दुई–चार वटा फिल्म चल्यो भन्दैमा आफूलाई फरक र अलग सम्झन्नु हुन्न । हामी सबै आममानिस हौं । मलाई कहिल्यै यस्तो लाग्दैन कि म सुपरस्टार हुँ । म सधैँ आम मानिसको जीवन शैलीमा बाँच्न चाहन्छु । मसँग पनि आम मानिसजस्तै इमोसन, फिलिङ्स, रिस, आक्रोश सबै हुन्छ । म सबै कुरामा राम्रो छु भन्ने हैन । मेरो दिमागमा पनि खराब विचारहरु खेल्छन् । कुनै कुख्यात अपराधीले गर्ने हर्कतहरुबारे पनि सोच आउँछ । तर, कसरी बाँच्ने ? त्यो एउटा कलाकारको व्यक्तित्वमा भर पर्छ । 

तपाईंलाई मनपर्ने आफ्नो बानी ?

म काम बाहेकको समयमा एक्लै बस्न रुचाउँछु । यो बानी अरुलाई मन नपर्ला । तर मलाई आफै चाँही मनपर्छ । एक्लै बसेर नयाँ कुराहरुको महशुस गर्न मनपर्छ । म लाङटाङ गएँ ।  त्यहाँ पुगेपछि साथीहरुसँग केही समय एक्लै छाडिदिन आग्रह गरेँ, र त्यसरी नै बसेँ । मैले मोबाइलमा खासै फोटोहरु खिचिन । किनकि, मलाई कसैलाई देखाउनु छैन । मलाई त महशुस गर्न मन थियो । त्यहाँको हावा, वातावरण, प्रकृति सबै महशुस गरेँ । 

स्टारडमसँगै कलाकारको जीवनमा के के कुराहरु आउँछ ? 

धेरै कुराहरु आउँछ । प्रसिद्धि, पैसा सबै । तर त्योभन्दा महत्वपूर्ण कुरा, अफ्ठ्यारा समयहरु आउँछन् । विभिन्न विवाद र कन्ट्रोभर्सी आउँछन् । ती कुरालाई सामना गर्नुपर्ने समय आउँछ । जुन किनै कठिन कुरा हो ।  

तपाईं ग्राउण्ड लेभलको मान्छे तर बलिउडमा एकछत्र राज छ । सफलताको सूत्र के रहेछ ?

सफलताको कुनै सूत्र हुँदैन । बरु असफलताले चाहीँ सूूत्रहरु निकाल्छन् । कुनै सफल मान्छेलाई सोध्नुभयो भने उसले मान्छेहरु किन असफल हुन्छन् भनेर सयौँ कारण दिन सक्छ । तर असफल मान्छेले सफलताको एउटा सूत्र पनि भन्न सक्दैन । जे भए पनि कामलाई पूजा गर्नुपर्छ । सफलता आफैं आउँछ, ढिलो चाँडो । सफलतालाई गम्भीर रुपमा लिनु हुँदैन । सफलता सँधै रहँदैन । त्यो निश्चित छ । यो नियम नै हो । 

आफूलाई सफल मान्नुहुन्छ ? 

नढाँटी भन्ने हो भने, म आफूलाई एक प्रतिशत पनि सफल मान्दिनँ । सफल भएको महशुस गर्न सपना देखेको हुनुपर्छ । मानौं, कसैले बाइक किन्ने सपना देखेको छ । उसले कुनै दिन बाइक किन्यो पनि । त्यसपछि उसले भन्छ, म मेरो सपना पूरा गर्न सफल भएँ । तर मैले कहिल्यै पनि ठूलो अभिनेता बन्छु भनेर सपना देखिनँ । मैले त काम गरेको हुँ । अभिनय गरेको हुँ । त्यसलाई दर्शकले मन पराइदिए । अब त्यसलाई दर्शकले नै सफलता भनिदिए । त म आफूलाई कहिल्यै सफल मान्दिनँ । 

तपाईंलाई के कुरासँग डर लाग्छ ?

भीडसँग । मलाई भीडसँग निकै डर लाग्छ । त्यो पनि अझै विवेकहीन भीडसँग । 

समुन्द्र, हिमाल, मरुभूमिमध्ये कुन मनपर्छ ?

मलाई मरुभूमि असाध्यै मनपर्छ । 

किन ? 

मरुभूमिको आफ्नै सुन्दरता छ । मरुभूमिमा कुनै क्षितिज र संरचना हुँदैन । जसले नजरलाई छेकोस् वा रोकोस् । हामीले जति टाढा हेर्न चाहन्छौं, जति टाढा देख्न सक्छांै, त्यो निर्धक्क तरिकाले हेर्न सक्छौं । मानिसको जीवनमा पनि त्यो लागु हुन्छ । हामीले हाम्रो सपनालाई साँघुरो बनाउनु हुँदैन । प्रयास गर्दै जादा, समय बित्दै जाँदा तिम्रो सपनाहरु परिमार्जन हुँदै जान्छन् । जसको कुनै सीमाना हुँदैन, मरुभूमि जस्तै । 

नेपाल भन्ने देशबारे पहिलो पटक कहिले सुन्नुभयो ? 

मैले सानैमा सुनेको थिएँ । सायद म ६/७ वर्षको थिएँ । अहिले नेपालमा पहिलोपल्ट आए पनि मेरो बुबा थुप्रै पटक आइसक्नुभएको छ । सानो छँदा बुबा वर्षमा दुई–तीन पटक नेपाल आउनुहुन्थ्यो, व्यापारका लागि । 

नेपाल आएपछि मन परेको सुन्दर पक्ष के हो ?

नेपालले ने जो जन्माया है, और ने देखा ही नहीँ (हिन्दी लवजमा) । नेपालको सुन्दरता व्याख्या गर्न असम्भव छ । अझै यहाँका मानिसको प्रेम, इमान्दारिता त झन् अन्त कतै छैन । मुम्बइमा त बिल्कुल छैन । 

अभिनेता दयाहाङ राईसहित थुप्रै कलाकारहरुसँग भेटघाट गर्नुभयो, कस्तो लाग्यो ? 

दयाहाङ राई निकै सिर्जनशील व्यक्ति हुनुहुँदो रहेछ । धेरैले उहाँलाई मसँग तुलना गरेर कुरा गरे । मलाई खुशी लाग्यो । उहाँको अभिनयको धेरै प्रशंसा सुुनेँ । मैले उहाँको चलचित्रको नामहरुको लिस्ट बनाएर राखेको छु । मुम्बई फर्केपछि समय मिलाएर हेर्छु । 

उता फर्केपछि नेपालको कुन कुरा सम्झिरहनु हुन्छ ? 

यहाँको सत्कार र संस्कृति निकै सुन्दर छ । अकल्पनीय छ । म यहाँका मानिसहरुको त्यो संस्कार कहिल्यै बिर्सन सक्दिनँ ।

टिप्पणीहरू