बूढानीलकण्ठमा उपसभामुख र धनराजबारे छलफल
नेपाली काँग्रेसको पदाधिकारी बैठकमा उपसभामुख इन्दिरा रानामागरको अमेरिकी भीसा प्रकरण र पार्टी उपसभापति धनराज गुरुङमाथि लागेको सहकारी बचत रकम दुरुपयोग आरोपमााथि छलफल भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजेदेखि सुरु बैठकमा समसामयिक राजनीतिबारे पनि छलफल गर्ने एजेण्डा राखिएको छ ।
विशेषगरी उपसभापति धनराज गुरूङमाथि सहकारी बचत रकम दुरुपयोग गरेको सम्बन्धमा गम्भीर प्रश्न उठेपछि काँग्रेस संवेदनशील बनेको छ । त्यसबारे काँग्रेसले सामूहिक धारणा बनाउन लागेको हो ।
उपसभामुख इन्दिरा राना मगरले सर्वसाधारणलाई अमेरिकी भीसा उपलब्ध गराउने प्रयोजनका लागि पदीय दुरुपयोग गरेकोबारे काँग्रेस विस्तृत छलफल र निर्णय गर्न लागेको छ । उनलाई पदबाट हटाउन आवश्यक प्रक्रियाबारे काँग्रेस पदाधिकारीहरुले निर्णय गर्न लागेका हुन् ।
प्रतिनिधि सभाको हिजोका बैठकमा एमाले सांसदहरूले उपसभामुखको राजीनामा मागेपछि आज काँग्रेसले बैठक बोलाएको हो । यसअघि अस्ति साँझ बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमा उपसभामुखको भूमिका र पदीय मर्यादा बाहिरको क्रियाकलापबारे छलफल भएपछि राजीनामा वा महाभियोगको चर्चा बाहिर आएको हो ।
टिप्पणीहरू