काठमाडौंमा शुरु भयो पौराणिक दी प्याखं नाच

काठमाडौंमा शुरु भयो पौराणिक दी प्याखं नाच

इन्द्रजात्रा पर्वको आकर्षण मानिने पौराणिक नाच दी प्याखं (देवी नाच) शुरु भएको छ । कायअष्टमीका दिन ‘पिदने’ नामको तेस्रो पूजा गरेर मुकुट, मुकुण्डो, घुँघुरा र पोशाकसहित नृत्य गरिएको हो ।

श्रावण शुल्क चौथीका दिन पहिलो पूजा गरेर नृत्य प्रशिक्षण शुरु हुन्छ । भाद्र शुक्ल चतुर्थीका दिन दोस्रो पूजा गरिन्छ । यसलाई ‘घँगलासि’ भनिन्छ । यसमा पात्रहरुलाई दैवी शक्ति प्राप्त होस् भनेर पूजा गर्ने गरिएको छ ।

यो नृत्य इन्द्रध्वज उत्थान गर्नुअगाडि वसन्तपुरको कागेश्वरी महादेव मन्दिर अगाडिको डवलीमा नचाइन्छ । यसपछि इन्द्रध्वज ठड्याएपछि इन्द्रजात्रा औपचारिक रुपमा शुरु भएको मानिन्छ । इन्द्रजात्रा (क्वनेयाः) का दिन जैसीदेवल अगाडिको डवलीमा नाच नाचिन्छ ।

कुमारीको रथ यस ठाउँमा आएपछि रथ रोकेर कुमारीलाई पनि नाच देखाउने चलन छ । यसैगरी, येँया पूर्णिमाका दिन बाङ्गेमुढा र इन्द्रचोकको डवलीमा नचाइन्छ । जात्राको अन्तिम दिन नानिचायाः का दिन किलागल डवलीमा अन्तिम पटक प्रदर्शन गरिन्छ । त्यसपछि एक वर्ष यो नाच देखाइँदैन । 

देवी पात्रहरुमा भैरव, कुमारी, चण्डी, दैत्य, कवं (कङ्काल), बेताः (बेताल) र ख्याः (ख्याक) हुन्छन् । नाचले असत्यमाथि सधै सत्यको जीत हुन्छ भन्ने सन्देश दिन्छ । अन्य परम्परागत नाचहरुमा दैत्यको वध गरेको देखाइन्छ । 

यस नाचमा पराजित दैत्य भागेको देखाइन्छ । अन्य नाचमा बलि चढाइन्छ भने यस नाचमा त्यस्तो बलि नदिने हुनाले यस नाचलाई शान्त नाचको रूपमा पनि लिइने बताइन्छ । इन्द्रजात्राका अवसरमा नचाइने नाचहरुमध्ये यो एउटा हो । 

पुलुकिसी, आकाश भैरव, लाखे जस्ता नाच कुमारीको रथ अगाडि पछाडि नचाइन्छ भने यो देवी नाच विभिन्न डवलीहरुमा मात्र नचाइन्छ । विभिन्न मुद्रा र आसनमा नचाइने यो नाच, शान्ति होस्, रोगव्याधी नहोस्, विनाशकारी र प्रलयकारी घटना नहोस् भन्ने कामनासहित प्रस्तुत गरिन्छ ।


 

टिप्पणीहरू