अशोकपछि ओलीको नजर मुकुलतिर

अशोकपछि ओलीको नजर मुकुलतिर
सुन्नुहोस्

नेकपा (एमाले) लाई संसद्को पहिलो दल बनाउने रणनीतिअन्तर्गत साना पार्टी तोडफोडको योजना अघि बढ्दा पहिलो शिकार भए, उपेन्द्र यादव । सरकार जोगाउने नाममा तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई समेत प्रयोग गरेर अहिलेका प्रधानमन्त्री केपी ओलीको प्रत्यक्ष संलग्नतामा उपेन्द्रको पार्टी फुटाइएको दाबी गरिन्छ । जानकार स्रोतका अनुसार यो खेल जारी रहँदा दोस्रो शिकार हुँदैछ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) । 

रवि लामिछानेको एकलौटीविरुद्ध आवाज उठाएवापत पार्टीबाट निकालिएका डा. मुकुल ढकालमार्फत रास्वपालाई छिन्नभिन्न बनाउने भित्री खेलबारे स्रोतले खुलासा गरेको हो । बताइएअनुसार यसबीच एमाले नेतृत्व र मुकुलबीच विभिन्न चरणमा छलफल भैसकेको छ । ‘रास्वपा फुटाउन मुकुललाई प्रयोग गर्ने र सके रविलाई पनि सहकारी काण्डमा सिध्याउने योजना छ’, समाचार स्रोतले सुनायो । 

केपी ओलीको रणनीति हो, संविधानको धारा ७६ (३) बमोजिम सरकार गठन हुने अवस्थामा पनि आफ्नालागि परिस्थिति अनुकूल बनाइराख्ने । त्यसनिम्ति एमालेलाई संसद्को पहिलो दल बनाउनुपर्ने हुन्छ । अहिले प्रतिनिधिसभामा ७८ सिटसहित एमाले दोस्रो छ । ८९ सिटको काँग्रेसलाई जित्न थप १२ सांसद चाहिन्छ । भनिंदैछ, त्यसका लागि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर अशोक राईको सात सिटे जसपालाई अदालतबाट मान्यता दिलाउने र एमालेमा मिसाउने तयारी छ । त्यसपछि थप संख्या जुटाउन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत साना पार्टी फुटाउने । तर, सँगै सरकारमा रहेको काँग्रेसले साना पार्टी फुटाएर एमालेलाई पहिलो बनाउन सहयोग पुग्नेगरी अध्यादेश ल्याउन सहमत हुने सम्भावना देखिँदैन । 

हुन त रास्वपाको कारवाहीमा परेका मुकुललाई सांसद र केन्द्रीय सदस्यको साथ देखिएको छैन । रास्वपाको केन्द्रीय तहका एकजना नेता पनि उनको पक्षमा बोलेका छैनन् । त्यसकारण एमालेलाई पहिलो दल बनाउने योजनामा उनको प्रवेशले ठूलो अर्थ राख्ने छाँट छैन । तर, थ्रेसहोल्ड बढाएर साना पार्टी सिध्याउने घोषित मिसनमा रहेको एमालेले यसलाई रास्वपा कमजोर बनाउने अवसरका रूपमा प्रयोग गर्न खोजेको हुन सक्छ ।  

यता, ०७९ मंसिरको चुनावलगत्तै पाँच वर्षपछिको निर्वाचनलाई लक्षित गरी ‘मिशन ८४’ चलाइरहेको एमालेको अर्को रणनीति छ– अन्य पार्टीका मान्छे चोरेर पार्टीमा मिसाउने । वाम एकताको सन्दर्भमा एमाले महासचिव शंकर पोखरेलले नयाँ सिद्धान्त नै बनाएका छन्– ‘माओवादी र एकीकृत समाजवादीसँग पार्टी एकता होइन, विभिन्न तहका कमिटी र व्यक्तिलाई पार्टीमा भित्र्याउने ।’ बलियो राष्ट्रिय शक्ति निर्माण’का नाममा उनले सार्वजनिकरूपमै यस्तो भन्दै आएका छन् । 

त्यसैअन्तर्गत रवि लामिछानेविरुद्ध आगो ओकलिरहेका मुकुलतिर ओलीको नजर परेको बताइन्छ । रास्वपालाई कमजोर बनाउन सक्दा आगामी ०८४ को निर्वाचन आफ्नो पक्षमा आउने हिसाबले पनि यसमा काम गरेको देखिन्छ । ‘उपेन्द्रको पार्टी फुटाइहाले, एकीकृत समाजवादीका मान्छे चोरेको चोर्‍यै छन्, माओवादीमा जनार्दनहरूलाई उचालिरहेका छन्,’ स्रोत भन्छ, ‘नागरिक उन्मुक्तिमा यसै दुई फ्याक छ । अब मुकुल ढकाललाई प्रयोग गरेर रास्वपालाई पनि फुटाउने रणनीति देखिन्छ ।’

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू