रावल र ओलीबीच कति लामो तुष

रावल र ओलीबीच कति लामो तुष
सुन्नुहोस्

भदौ १५ गते काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सुदूरपश्चिमको प्रसिद्ध गौरा पर्वसम्बन्धी कार्यक्रम आयोजना गरियो । सो कार्यक्रममा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आउने भनी निकै बेरसम्म उद्घोष भइरहेको पनि हो । तर, अन्तिममा महासचिव शंकर पोखरेल देखा परे । 

एमालेको सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा आयोजित सो कार्यक्रमको निम्तो ओलीले स्वयंले स्वीकार गरेका थिए । तर, त्यहाँ पूर्वउपाध्यक्ष डा. भीम रावललाई नबोलाउनु भन्ने उर्दी जारी गरे । केही गरी रावल बोलाए कमिटी नै भंग गरिदिने बताए । 

ओलीको सो भनाई सुदूरपश्चिेमीका बीचमा फैलियो । त्यसपछि कार्यक्रममा नाराबाजी हुने खतराका कारण ओली आफैँ नआएर महासचिव पोखरेललाई पठाइएको बताइन्छ । 

गत साता ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टँुडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा नाराबाजी भयो, त्यहीँ रावल र बालेन साहका पक्षमा हुटिङ भयो । सो हुटिङ रावलले गराएको आरोप पनि अहिले विरोधीले लगाउने गरेका छन् । रावलले भने यस्तो विरोध प्रचण्ड प्रधानमन्त्री हुँदा भएको तर उनले सहजरूपमा लिएको बताएका छन् । हुन पनि त्यतिबेला प्रचण्डले देउवा शैली अपनाएनन्, देउवाले भने सो बेला तिमीहरू बदमास हौ, ठीक पार्छु भन्ने अभिव्यक्ति दिएका थिए । ओली र देउवा बोल्दा टुँडिखेलमा नाराबाजी भएको थियो । ओली नाराबाजी भएपछि चाँडै निस्किएका थिए ।

रावललाई नेता हुन नदिने खेल

अध्यक्ष केपी ओलीले रावल निकटलाई अब चाँडै उहाँलाई काम दिन्छु भन्ने गरेका छन् भने विरोधीलाईचाहिँ अब ठेगान लगाउने बताएका छन् । हालैको सचिवालय बैठकमा पनि सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको प्रश्नको जवाफमा रावललाई कारबाही गर्ने आशय झल्किएको थियो । 

रावलले आफूलाई कार्यक्रममा नबोलाऊ भन्नुलाई कम्युनिष्टविरोधी, जबजविरोधी, निरंकुश, कुण्ठाग्रस्त, निषेध र सत्ताको उन्माद हो भन्ने अभिव्यक्ति फेसबुक र ट्वीटरमार्फत दिएका छन् । 

कारबाही गरे अर्को पार्टीमा जान्छ भनेर कारबाही नगर्ने र एमालेमा पनि जिम्मेवारी नदिएर पेण्डुलम बनाइएको हो भन्ने गरिएको छ । 

रावलले क्याप्टेन रामेश्वर थापाको किताब विमोचनमा शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिमाथि खरो टिप्पणी गर्दै यस्ताले गठबन्धन बनाउने हो भने सार्वभौम संसद र दलको भूमिका रह्यो त ! दलका नेता कसको इशारा र मुट्ठीमा छन् भन्ने प्रश्न गर्दैनन् र भनेका छन् ।

रावलले ओलीले पार्टीका जिल्ला अधिवेशनमा टीका लगाएर नेतृत्व छान्ने गरेको पनि बताउने गरेका छन् । उनका अनुसार कञ्चनपुर एउटा उदाहरण हो । अछाम, डोटी र बझाङको अधिवेशनमा पनि रावल पक्ष हावी हुने भएकोले अधिवेशन नगरिएको रावल पक्षधरको बुझाइ छ । पछिल्लो पटक रावलमाथि विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउने खेलमा लागेको आरोप पनि लाग्ने गरेको छ । तर, रावलले तुल्सीलाल प्रतिष्ठानमा भण्डारीसँग भेट भएबाहेक कहीँ, कतै भेटघाट र छलफल नभएको बताइरहेका छन् ।

(साभार:जनआस्था साप्ताहिकबाट)

 

टिप्पणीहरू