अमेरिकी कर्जा मिलाइदिने नाममा ठग्दै हिँडेका खतिवडा प्रहरी खोरमा

अमेरिकी कर्जा मिलाइदिने नाममा ठग्दै हिँडेका खतिवडा प्रहरी खोरमा
सुन्नुहोस्

कृषिका लागि कर्जा मिलाइदिने आश्वासनमा ठगेको आरोप लागेका एक जना पक्राउ परेका छन् । काठमाडौंको नागार्जुन नगरपालिका–९, दुर्गानगर कोलोनी बस्ने ५५ वर्षीय नारायणप्रसाद खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले ऋण मिलाइदिने आश्वासनमा पीडितबाट झण्डै साढे १७ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उक्त कार्यमा हाल फरार रहेका विष्णु एण्ड सोनी प्रालिका सञ्चालक विष्णुबहादुर कार्कीको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ । 

खतिवडाले आफ्नो कार्कीसँग चिनजान रहेको र उनले कृषि फर्मको नाममा अमेरिकाबाट १० लाख ९९ हजार ८९८ अमेरिकी डलर (नेपाली १४ करोड ५१ लाख ९८ हजार ५४८ रुपैयाँ) साढे दुई प्रतिशत ब्याजदरमा कर्जा मिलाइदिने बताएका थिए । 

त्यसपछि विभिन्न कागजात तयार पारेर पीडितसँग ग्यारेन्टीका लागि फर्मको नाममा रहेको चेक कार्कीको नाममा पटकपटक लेख्न लगाई १७ लाख ३१ हजार रुपैयाँ ठगेको पाइएको हो । 

काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेका खतिवडालाई खोजतलास गर्ने क्रममा आज दिउँसो १ बजे भद्रकालीबाट नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ ।

टिप्पणीहरू