मिस नेपाल आश्मा पूर्वपञ्चको पार्टीमा आवद्ध

मिस नेपाल आश्मा पूर्वपञ्चको पार्टीमा आवद्ध
सुन्नुहोस्

सामान्यतया सौन्दर्य प्रतियोगिताका विजेताहरु उपाधिपछि मनोरञ्जनको दुनियाँमा करिअर बनाउन चाहन्छन् । त्यस्ता सुन्दरीहरु अधिकांश कि चलचित्रतिर लाग्छन्, कि मोडलिङ र फेशन रोज्छन् । 

तर, यस वर्षको ‘मिस नेपाल’ आश्मा कुमारी केसी भने राजनीतिमा हेलिएकी छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उनले राजनीति शुरु गर्न लागेकी हुन् । उनलाई सो पार्टीले सिधै केन्द्रीय सदस्य बनाएको छ । 

४० वर्षमुनिका २० जनाल़ाई केन्द्रीय सदस्य बनाउने विधानको व्यवस्थाबमोजिम राप्रपाले आश्मासहितका युवाहरुलाई सिधै केन्द्रीय जिम्मेवारी दिएको हो । जसमध्ये १० जना महिला र १० जना पुरुष रहेका छन् । 

आज पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी उनीहरुलाई केन्द्रीय सदस्यको प्रमाणपत्र हस्तान्तरण गर्ने सचिवालय सदस्य केशवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार केन्द्रीय सदस्य चयन हुनुअघि सबैसँग अन्तर्वार्तासमेत लिइएको थियो । 

‘पेशाले कोही इन्जिनियर, कोही युवा व्यवासायी, मिस नेपाल, वकिलहरु हुनुहुन्छ’, उनले जनआस्थासँग भने, ‘सबैसँग अन्तार्वार्ता लिएर केन्द्रीय सदस्यको लागि योग्य व्यक्तिहरुलाई आज प्रमाणपत्र दिन लागेका हौँ, सबै शिक्षित र राजनीतिप्रति राम्रो जानकार हुनुहुन्छ ।’

टिप्पणीहरू